प्रचण्ड र जनार्दनको विवाद उग्र बन्दै, माओवादी केन्द्र छिनभिन्नको बाटोमा

काठमाडौं। नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका उपमहासचिव जनार्दन शर्माबीच पार्टीको आन्तरिक विषयमा सवाल जवाफ भएको छ। एउटै कार्यक्रममा उनीहरूबीच विवाद छरपस्ट भएको हो। पछिल्लो समय बागमती प्रदेशस्तरीय परामर्श बैठकमाशर्माको विपक्षमा नेताहरु उभिँदा यो विषय झनै पेचिलो बन्दै गइरहेको छ।

एक समय जनयुद्धका सुप्रिमो कमाण्डर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रापताप छुट्टै थियो। जनयुद्धताका प्रचण्डलाई मानिसहरु भाग्य परिवर्तनकारी मसिहाका रुपमै लिन्थे।

प्रचण्डको एक बोलीमा माओवादी नेता कार्यकर्ताहरु मर्न र मार्न तयार हुने गर्थे। तर तीनै प्रचण्ड अहिले पार्टीभित्रै सिथिल र निरीह देखिन्छन्। त्यसो त सत्ता र शक्तिका लागि मरिहत्ते गरेकै कारण आलोचित बन्दै आएका प्रचण्ड पछिल्लो समय पार्टीभित्रै घेराबन्दीमा पर्दै गएका छन्। प्रचण्डले निरन्तर माओवादीको नेतृत्व सम्हालेको करिब ३६ वर्ष भइसकेको छ।

माओवादीभित्रको कलहले पटक पटक पार्टी विभाजन हुँदा‘ प्रचण्ड माथि अनेक प्रश्न उठ्ने गरेका छन्। पार्टी संगठन विहीन बनेको, नेतृत्व गतिशील बन्न नसकेको,अध्यक्ष प्रचण्डकै विकल्पबारे बहस हुनु जस्ता विषयले उनीमाथि दबाब बढ्दै गएको छ भने पार्टीका नेताहरुकै प्रश्नको घेराबन्दीमा पर्दै गएका छन्।

गत साउन ११ देखि पाँच दिनसम्म चलेको पदाधिकारी बैठक र स्थायी समिति बैठकमा विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठेको थियो। बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रतिवेदन पेस गर्दै माओवादीमा प्रचण्डले विकल्प दिनुपर्नेसम्मका प्रस्ताव राखेका थिए। शर्माले आफूमाथि प्रचण्डले माओवादी पार्टी विभाजन गर्न खोजेको आरोप लगाएको प्रतिवेदनमा उल्लेख गरेका थिए।

त्यस विषयले माओवादीमा तरंग उत्पन्न भएको थियो। पछिल्लो पटक भदौ १ गते शनिबार अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच लड्ने मैदान बन्यो माओवादी केन्द्र काठमाडौँ रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलन कार्यक्रममा उपमहासचिव शर्माले अध्यक्षबाट प्रचण्डलाई हटाउन खोजेको, पार्टी विभाजन गर्न खोजेको जस्ता आरोप आफूले खेप्दै आएको भन्दै प्रचण्डप्रति आक्रोश व्यक्त गरे।

उनले कार्यक्रममा बोल्दै आफूले प्रचण्डले भने अनुसार कहिले एमाले, कहिले काग्रेससँग वार्ता गर्दा आफैँमाथि भ्रम सिर्जना गरेर बदनाम गर्ने काम भएको तर्क गरे। शर्माले अध्यक्षलाई विचार निर्माण र सत्ताको नेतृत्व लिनुस् ,सङ्गठनको नेतृत्व अरूलाई जिम्मा दिनुहोस् भनेको भन्दै अध्यक्षको रेसमा आफू नभएको प्रष्ट पारे।

प्रचण्ड र शर्माबीच आठौँ महाधिवेशनबाट असमझदारी सुरु भएको देखिन्छ। २०७८ पुसमा सम्पन्न आठौँ महाधिवेशनलाई ‘राष्ट्रिय सम्मेलन’ बनाउने तयारी थियो। अन्तिम समयमा प्रचण्डले ब्यानर परिवर्तन गरी ‘महाधिवेशन’ बनाए।

शर्माले त्यो प्रसंग पनि प्रतिवेदनमा राखेका छन्।एकातिर राष्ट्रिय सम्मेलनलाई महाधिवेशन भन्नु र अर्कातिर महासचिव पद नपाउनुले शर्मा रुष्ट बनेका थिए। प्रचण्डले देव गुरुङलाई महासचिव बनाउनु पूर्व ‘आपसी किचलो समाधान गर्ने’ प्रतिबद्धता जनाएका थिए।

शर्मासँगै महासचिवमा दाबी गर्ने वर्षमा पुन, प्रचण्ड प्रधानमन्त्री बन्दा अवैतनिक प्रमुख सल्लाहकार बने। लगत्तै नयाँ समीकरण बन्दा पुन अर्थमन्त्री बने। शर्माले सरकारमा कुनै जिम्मेवारी नै पाएनन्।

उनीनिकट नेता मानिने कर्णालीका राजकुमार शर्माले मुख्यमन्त्री पद गुमाउनु प¥यो। राजकुमार जनार्दनका नाताले भाइ फुपूका छोरा पर्छन्। राजकुमारको सत्ता जोगाउन शर्मा आफैँ लागेका थिए तर प्रचण्डले बलजफ्ती राजीनामा गराए। उता सुदूरपश्चिमका खगराज भट्टलाई प्रचण्ड निकट मानिने सांसदहरूले संसदीय दलको नेताबाटै हटाएका थिए।

यी सबै घटनाक्रमपछि प्रचण्डले शर्माविरुद्ध अभिव्यक्ति दिन थालेको नेताहरू बताउँछन्। माओवादीको रुकुम–काठमाडौँ समितिको भेलामा शर्माले आफू देउवा र ओलीको प्रिय भएको तर प्रचण्डको हुन नसकेको बताएका थिए।

यस्तै बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा पनि शर्माले पार्टी बिग्रियो, छलफल गरौँ भन्न पनि किन नपाउने भन्दै प्रतिप्रश्न गरे। उनले आफूले पार्टीभित्र भिन्न मत राखेको नभई आफ्नो मत राखेको तर्क गरेका छन्।

यद्यपि, पार्टीलाई एकताबद्ध गर्नकै लागि आफूले विचार राखेको दाबी गरेका उनले पार्टी फुटाउँछ भन्ने लागेको भए म के गरौँ भन्दै प्रश्न गरे। शर्मा र अध्यक्ष प्रचण्ड बीचको टकराव छताछुल भए पनि प्रचण्ड भने यसलाई गुपचुप रुपमा लैजान चाहन्छन्।

प्रचण्डले पार्टीको प्रदेशस्तरीय संरचनामा पनि शर्माविरुद्ध माहोल बनाउँदै लगेको देखिन्छ। सम्वभतःप्रचण्ड एउटा राम्रो दाउ हेरिरहेका छन्। अहिले सत्ता र शक्ति बाहिर रहेका बेला पार्टीभित्रको आन्तरिक संघर्षले पार्टी र स्वयम् प्रचण्डका लागि घातक हुने देखेका उनी शर्मासँग केही नरम देखिएका छन्।

सत्ताबाट बाहिरिएपछि आन्तरिक छलफलमा रहेको नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड चौतर्फी दबाबमा छन्। प्रचण्डसँग उनका नेता कार्यकर्ता मात्र नभई उनलाई विश्वास÷भरोसा गरेका जनता पनि निराश छन्।

पार्टी नेतृत्व सत्ताको रसपानमा भुलेको, पार्टीपंक्ती संगठन विस्तारमा नलागेको, चुनावमा गठबन्धनको भर परेको, जनयद्धका घाइते अपांग, बेपत्ताका परिवारलाई बेवास्ता गरेको, दुर्गम क्षेत्रका जनतालाई भुलेको जस्ता आरोपहरुको भूमरीमा सिंगो माओवादी केन्द्र परेको छ।

त्यस्तै विवाद कायम रही राखे माओवादी केन्द्र फेरि पनि फुट्को सिकार बन्ने निश्चित जस्तै देखिएको छ। प्रचण्डको दम्ब र जनार्दनको पद लोलुपले माओवादी फेरि एकपटक जुट्नु भन्दा पनि फुट्नमै अग्रसर देखिने बाटोमा अगाडि बढेको देखिन्छ।