सहकारी ठगी प्रकरण: जिबीमै अड्कियो रविको गाँठो,प्रमाण प्रशस्त नहुँदा काँग्रेसलाई संकट
काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार ९ घण्टा लामो वयान दिए। सहकारी ठगी प्रकरणको लफडामा फसेका रास्वपा सभापति समेत रहेका रविले संसदीय छानबिन विशेष समितिलाई रक्षात्मक वयान दिएको खुलेको छ।
समितिलाई रविले ५० भन्दा बढी मुख्य र अन्य पुरक गरेर झण्डै सय प्रश्नको जवाफ दिएका छन्। तर मुख्यगरी सबैजसो प्रश्नमा रविले जिबीलाई नै दोष देखाउँदै आफ्नो संलग्नता नरहेको पुष्टि गर्न खोजेका छन्।
आफू कुनै पनि सहकारीमा संलग्न नरहेको र ऋण पनि नलिएको रविको दावी छ। तर रविको नाममा विभिन्न सहकारीको रकम आएको प्रमाणहरु सार्वजनिक भएका छन्। जसमा रविले उक्त कागजातहरुको वैद्यतामाथि नै प्रश्न उठाएका छन्। खासगरी गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रबन्धकको रुपमा रहेका बेला सहकारीको रकम अपचलन गरिएको तथ्यहरुले बताइरहेका छन्।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवबन्धक रहेका रविले १५ प्रतिशत (श्वेट) शेयर प्राप्त गरे। तर मुख्य प्रबन्धक जिबी राई नै थिए। रवि र जिबी संचालकका रुपमै रहेका बेला विभिन्न सहकारीको करोडौँ रकम अपचलन भएको थियो। यद्यपि पछि रविले गोर्खा मिडियासँगको आबद्धता त्यागे। तर ग्यालेक्सी टेलिभिजन छाड्दा रविको नाममा सहकारीबाटै झण्डै २ करोड रकम अएको बताइन्छ।
यसको तथ्यगत आधारप्रति रविले अझै अनविज्ञता प्रकट गर्ने गरेका छन्। यो सबै त्रियाकलाप जिबीको रहेकाले आफूले यसको जिम्मेवारी नलिने तर्क गर्दै आएका छन्।
कुनै पनि सहकारीबाट ऋण नलिएको दावी गरेका रविले जिबीले गरेको सबै बदमासीको जिम्मा नलिने वयान दिएका छन्। आफू टेलिभिजनमा हुँदा आर्थिक व्यवस्थापनको पाटो जिबीले नै हेर्ने हुँदा त्यसको श्रोतको विषयमा आफू अनविज्ञ रहेको रविको दावी छ।
संसदीय छानविन समितिले वयानमा सयौँ हारहारीमा प्रश्न उठाएपनि सहकारी ठगी प्रकरणमा रवि स्वयमको प्रत्यक्ष संलग्नता रहको प्रमाणहरु पनि भेटिएको देखिँदैन। जसले रविलाई उन्मुक्तिका लागि केही सहज भएको छ।
यद्यपि अन्य विस्तृत अनुसन्धानमा रविले दिएको जवाफ र वयानका आधारमा पूर्ण प्रतिवेदन बन्ने छ। तर हालसम्मको रविको दावीलाई मान्ने हो भने जीबी पक्राउ परेमा मात्रै यसको पूर्ण सत्यता पुष्टि हुनेछ।
प्रमाण प्रशस्त नहुँद काँग्रेसलाई संकट
सत्तारुढ दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा रवि लामिछानेलाई तारो बनाउँदै आएको छ। गृहमन्त्री रहेकै बेला रविलाई काँग्रेसले संसददेखि सडकबाटै चर्को विरोध गरेर राजीनामाको समेत माग गर्यो। तर अहिले काँग्रेस सत्तामा मात्रै होइन अनुसन्धानको प्रमुख जिम्मेवारी वहन गर्ने गृहमन्त्रालयको नेतृत्वमा समेत छ।
यो अवस्थामा रविविरुद्धका आरोप प्रमाणित गर्ने प्रशस्त आधार पनि देखिँदैनन्। जसका कारण काँग्रेसमाथि नैतिक संकटमा पर्ने निश्चित छ। प्रतिपक्षमा रहेका बेला काँग्रेस महामन्त्री गगन थापाले नै रविविरुद्ध प्रशस्त प्रमाण रहेको ठोकुवा गर्दै संसदबाटै राजीनमा मागेका थिए।
तर अहिले संसदीय छानविन समितिमा रविविरुद्धको ठोष प्रमाण भेटिएका छैनन। जसले काँग्रेसमाथि नै अविश्वास पैदा हुने खतरा बढेको छ। त्यस्तै सहकारी ठगी प्रकरणका मुख्य दोषी जीबी राई खोजी गर्न गृहमन्त्रालय नै चुकेको टिप्पणी पनि हुन थालेका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले नै जिबी पक्राउ गर्न अनेकौँ पहल गरेका थिए। उनले सरकार छाड्दै गर्दा पनि जिबी राई नजिक प्रहरी पुगिसकेको खुलाएका थिए। तर वर्तमान सरकारले भने जीबी राईलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै प्रश्न खेपिरहेको छ।
यहाँसम्मकी गृहमन्त्री रहँदै रवि लामिछाने स्वयमले अघिल्लो सरकारले नै जिबीलाई भगाएको आरोप लगाएका थिए। त्यस्तै सहकारी ठगी प्रकरणको विषय यसअघि प्रतिपक्षमा रहँदा काँग्रेसले जसरी उठाउने गर्दथ्यो,त्यही अनुसारको काम गर्न सकेको छैन। अहिले सत्ता र शक्ति आफ्नै हातमा भएर पनि आरोपको पुष्टि गर्न नसक्दा काँग्रेसलाई रवि नै भारी भइरहेको छ।