प्रहरी हाकिमका बैंक खाता चेक हुँदै,एक जना डिआइजीलाई कारबाही गर्दैछौं: आइजिपी कुँवर

काठमाडौं। नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले यस्तो बताएका हुन्। उनले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए।

प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाइ छ। ‘तपाईंहरु अर्थात् प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ’, उनले भने।

महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने बताए।

ट्राफिक प्रहरीमा १० बर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै अब यो स्वीकार्य नहुने उनको भनाइ छ। ‘यो वा त्यो बहानामा कहिले एउटा ढोका कहिले अर्को ढोकामा काम गरेको अवस्था छ, यो भत्काउनुपर्छ’, कुँवरले भने।