हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु: पर्यटनमन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन्।
बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए।
‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु। मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु,उनले भने।मन्त्री पाण्डेले कागजमाभन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए।
उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दबाब,प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे।
मन्त्री र सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै उनले इमान्दारिताका साथ काम गर्न निर्देशन दिए।मन्त्री पाण्डेले हरेक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन्।