नेताविरुद्ध नाराबाजी गर्नेलाई शान्तिविरुद्धको मुद्दा
काठमाडौं। गौरापर्वको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा मुलधारका राजनीतिक दलका नेताहरुविरुद्ध नाराबाजी गरेका युवाहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गरिरहेको छ। पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइँदैछ। यो घटनाले सरकार र मुलधारका राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश झनै बढाइदिएको छ।
नेपालमा गणतन्त्र स्थापनाको डेढ दशक बढी भइसक्दा पनि नागरिकले परिवर्तनको प्रत्याभूति गर्न पाइरहेका छैनन्। भविष्यको खोजीमा युवाहरु विदेश जान भन्दै विमानस्थालमा लाम लागिरहेका छन्। तर मुलधारका भनिएका राजनीतिक दलका नेताहरु भने नेपालमा प्रशस्त सम्भावना हुँदा हुँदै पनि मुलुकमा भविष्य छैन भनेर जर्बजस्त गलत भाष्य खडा गरिएको राग अलापिरहेका छन्।
मुलुक भ्रष्टाचार र अनियमिताले चुर्लुम्म डुबेको छ। त्यसैको आक्रोश सरकार र राजनीतिक दलका नेताहरु प्रति समाजिक सञ्जालहरुमा मात्र होइन सडकमा समेत पोखिन थालेको छ। त्यसैको झिल्को सोमबार सांस्कृतिक पर्व गौराको टुँडिखेलमा आयोजित कार्यक्रममा पनि पोखिएको थियो।
प्रधानमन्त्री एबम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उनका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो। सार्वजनिक कार्यक्रममा आफूविरुद्ध पोखिएको आक्रोशलाई सहज रुपमा लिएनन्, मञ्चबाटै नयाँ पुस्ता नै अशिष्ट भएकोसमेत भन्न भ्याए।
त्यसपछि नाराबाजी गर्ने युवाहरुलाई सत्ताको बलमा खोजीखोजी पक्राउ गर्न थालिएको छ। यहि विषयलाई लिएर संसदमा सत्ता पक्ष र विपक्षी सांसदहरुबीच जुहारी नै चलेको छ।
टुँडिखेलमा सोमवार आयोजित कार्यक्रममा सरिक हुन ओली र देउवा मात्र होइन, एमाले नेता भीम रावल लगायतका नेताहरु पनि पुगेका थिए। रावलले भने नाराबाजी गरेकै कारण मञ्चबाटै गाली–गलौज गर्ने र गिरफ्तार गराउनु संविधानकै उलंघन भएको बताएका छन्।
संविधानको मौलिक हक अन्तर्गत नागरिकले जो कसैको पनि विरोध गर्न पाउने ब्यवस्था छ। तर नेताविरुद्ध नाराबाजी गरेकै आरोपमा सुर्खेतका बुद्धराम जैसी, अछामका रामबहादुर बुढा र कञ्चनपुरका दीपकसिंह ठगुन्नालाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर लगाइएको छ।
सरकार र राजनीतिक दलका नेताहरुविरुद्ध नाराबाजी गरेकै भरमा युवाहरुलाई खोजीखोजी पक्राउ गरिनुलाई शासकको चरित्र मात्रै उजागर गरेको छैन, नेताहरुप्रतिको युवा आक्रोश झनै बढाएको छ।