माओवादी र योगेशबीचको लडाइँ थप उग्र बन्दै, योगेश भट्टराइमाथि लागे यस्ता गम्भीर आरोप

काठमाडौं। नेकपा माओवादी सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेपछि एमाले सचिव योगेश भट्टराई आलोचनाको सिकार बनेका छन्। पटक–पटक दोहोरो चरित्र देखाउने भट्टराईले गैरजिम्मेवार हर्कत प्रस्तुत गरेको आरोप मात्रै लागेको छैन कि उनीमाथि हतियार तस्करी गरेकोसमेत गम्भीर आरोप लागेको छ।

प्रतिनिधिसभामा विद्युत बक्यौताजस्तो गम्भीर विषयमा विचार राखिरहेका एमाले सचिव एवं सांसद योगेश भट्टराई असंयमी र उत्तेजक अभिव्यक्तिले आलोचनाको चुलीमा पुगेका छन्। माओवादीको दश वर्षे सशस्त्र जनयुद्धलाई हिंसा भनेपछि बुधबार संसदमै २५ मिनेट भन्दा बढी विवाद चलेको थियो।

जसका कारण चौतर्फी आलोचनाको घेरामा योगेश परेका छन्। एकातर्फ योगेश आफैँले माओवादीको भेषमा हतियार तस्करी गरेको आरोप पनि खेपिरहेका छन्। अर्कोतर्फ जनयुद्धलाई हिंसा देख्नेले आफ्नै अध्यक्षमाथि धर्मप्रसाद ढकालको टाउको काटेको आरोपलाई कसरी हेर्नु भन्दै प्रश्नको बाढी आइरहेको छ।

योगेशले संसदमा माओवादीको हिंसात्मक द्वन्द्वकै कारण देश १० वर्ष पछि धकेलिएको र विद्युतको क्षेत्रमा माओवादीले आतंक मच्चाउँदा लोडसेडिङको मारले देश पछाडि परेको आरोप लगाएका थिए।

योसँगै सामाजिक सञ्जाल र सदनमै पनि उनको उभिव्यक्तिको तीव्र आलोचना भइरहेको छ। माओवादीले योभन्दा पनि माथि उठेर गम्भीर आरोप लगाउँदै योगेशलाई सांसद लेखनाथ दाहालले नम्बरी ठगको संज्ञा दिएका छन्। जुन स्टाटसलाई माओवादी उपमहासचिव जनार्दन शर्माले पनि सेयर गरेका छन्।

संसदमा पनि माओवादीले योगेशलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको गम्भीर आरोप लगाएको छ। जनयुद्धको नाममा चन्दासमेत असुलेको आरोप माओवादीले योगेशमाथि लगाएको छ।

तर माओवादीमाथि पनि प्रश्न के उठ्छ भने यदि योगेश हतियार तस्करीमा संलग्न थिए भने सत्ता हातमा हुँदा के हेरेर बसेको भन्ने प्रश्न उठ्छ। उनले तस्करी गरेका थिए भने छानबिन गरी हातहतियार खरखजानाको मुद्दा माओवादीको सरकारले किन चलाउन नसकेको त।

यस्ता प्रश्नको घेराबन्दीमा माओवादी आफैँ परेको छ। तर, माओवादीको यो आरोपलाई बल पु¥याउने गरी केही समयअघि एक टेलिभिजन कार्यक्रममा एकीकृत समाजवादीका नेता प्रेम आलेले समेत अभिव्यक्ति दिएका थिए।

उनले योगेश तस्करीमा संलग्न पात्र भएको दाबी नै गरेका थिए। माओवादी जनयुद्ध चर्किएको र नेताहरु भूमिगत भएका बेला माओवादीकै नाममा हतियारको दुई नम्बरी गर्ने गरेको र त्यसैको बलमा काठमाडौंमा सम्पत्ति जोडेकोसम्म आरोप लगाएका थिए।

आलेको भनाइलाई पुष्टि गर्ने गरी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि जनयुद्धका समयमा योगेश माओवादीको भेषमा आफूलाई धम्क्याउन आएको तथ्य खोलेका थिए।

त्यस समयमा योगेशका ससुराली तर्फका दरबारिया आफन्तविरुद्धको मुद्दा आफूले हेरिरहेको र मिलापत्र गराउन माओवादीको भेषमा आफ्नै कार्यालयमा आएका योगेशले दबाब दिएकोसम्म अधिवक्ता न्यौपानेले खुलाएका थिए।

तर, यहाँ ताजुब लाग्दो विषय के हो भने संविधानले जनयुद्धलाई सशस्त्र युद्ध भनेको छ। योगेशले आफ्नो अभिव्यक्तिलाई एमालेको भाषामा भनेका छन्। तर उनको भाषा समय समयमा फरक फरक देखिएको छ।

आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई भूतप्रेत देख्ने योगेश अहिले पार्टीमा ठाउँ पाउन उनै ओलीलाई राजनेता देखिरहेका छन्। यिनै योगेश हुन्, जसले कुनै समय ओलीको लिंग पहिचान हुन नसकेकोसम्मका आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

अहिले उनै ओलीका गलत काममा पनि काँध हालेर हिँडिरहेका छन्। यीनै योगेश हुन्, जसले प्रचण्डसँग काँध थापेर सत्ताको स्वाद लिइरहँदा माओवादी जनयुद्धलाई परिवर्तनको संवाहक देख्थे र प्रचण्डलाई क्षमतावान् नेताको रुपमा वर्णन गर्थे।

त्यतिबेला जनयुद्धले कमभन्दा कम क्षति गरेको देख्थे। अहिले उर्जा क्षेत्रको विकास रोक्ने प्रमुख कारण नै जनयुद्धलाई देखाइरहेका छन्। यीनका यस्तै दोहोरो चरित्र धेरै ठाउँमा देखिन्छ।

केही समय अघिसम्म अहिलेका प्रधानमन्त्री ओली पनि योगेशकै बाटोमा थिए। गत साउन २३ मा संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा राजनीतिक सहमति जुटेपछि ओलीले फेसबुकमार्फत माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसात्मक द्वन्द्व’ भनेका थिए।

केही दिनअघि मात्रै माओवादी अध्यक्ष प्रचण्डले केही नेताहरुलाई जनयुद्ध शब्द प्रयोग गर्दा जातै जालाजस्तो हुने भन्दै दुखेसो गरेपछि त्यहीँ साँझ ओलीले अभिव्यक्तिलाई सच्याउँदै माओवादी विद्रोहलाई सशस्त्र द्वन्द्वको संज्ञा दिएका थिए।

तर शान्ति प्रक्रिया टुुंगिएकै समय सत्तारुढ सांसदले नै अनावश्यक बखेडा झिक्नु र संसदमै गैरजिम्मेवार हर्कत देखाउनु सुखद् संकेत होइन। यसले विद्युत बक्यौताको गम्भीर बहसलाई गिजोल्ने काम त भएको छैन। योगेशकै राजनीतिक परिपक्वतामाथि पनि प्रश्न उठाएको छ।