क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने निर्णय
काठमाडौं। उच्च सरकारी वकिलको कार्यालय, पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ। पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयका प्रमुख शंकर खत्रीले बताए।
उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ।
यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दिएकी थिइन्। उक्त निवेदन पनि रायको फाइलसँगै राखेर महान्यायाधिवक्ता कार्यालयमा पठाएका छन्।
२ जेठ, २०८१ मा उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर लामिछानेलाई सफाइ दिएको थियो।