दर्शन :द्वन्द्वात्मक भौतिकवादको दार्शनिक पक्षधरता  

” द्वन्द्वात्मक भौतिकवादको मार्क्सवादी दर्शनका दुई प्रमुख विशेषता छन्। एउटा यसको वर्गीय स्वभाव हो , यसले खुलारुपबाट द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको पक्षमा छ भनी स्वीकार गर्दछ र अर्को यसको व्यावहारिकता हो,यसले व्यवहारमा सिध्दान्तको निर्भरतामाथि बल दिन्छ,सिध्दान्त व्यवहारमा आधारित हुन्छ र त्यसो हुँदा यसले व्यवहारलाई नै सघाउँछ भन्ने कुरामा बल दिन्छ।” – माओ त्सेतुङ,Selected Works of Mao Tse Tung, Vol.1, p 297 Foreign Languages Press, Peking 1975.

द्वन्द्वात्मक भौतिकवाद प्रकृति , समाज र चेतना सबै क्षेत्रको दार्शनिक सिध्दान्त हो। द्वन्द्ववाद र भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बन्दछ। द्वन्द्ववादले पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ। भौतिकवादले गतिशील पदार्थलाई विश्वको आधिकारण वा प्राथमिक तत्व मान्दछ।
 
गति र पदार्थ एक अर्कोबाट कहिल्यै पनि अलगिदैनन्। जब गति र पदार्थ एक अर्कोबाट अलगिदैनन् भने त्यो स्थितिमा पदार्थमा विद्यमान गतिको अध्ययन गर्ने द्वन्द्ववाद र गतिशील पदार्थलाई प्राथमिक स्थानमा राख्ने भौतिकवाद कुनै पनि हालतमा अलगिन सक्तैनन्। द्वन्द्ववाद र भौतिकवादका बीच मिलन हुन्छ र अनि त्यो दर्शनको नाम द्वन्द्वात्मक भौतिकवाद बन्न पुग्छ।
     
दर्शनको इतिहासमा एक अर्कोबाट अलगिएका द्वन्द्ववाद र भौतिकवादलाई एउटै ठाउँमा मिलाउने काम कार्ल मार्क्स ( १८१८- १८८३) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५) ले गर्नु भएको हो। 
     
वैचारिक पक्षधरता द्वन्द्वात्मक भौतिकवादको मूल्य विशेषता हो।यसले पुँजीवाद विरुद्धको संघर्षमा सर्वहारा वर्गको पक्षधरता अंगीकार गर्दछ। यसले सिध्दान्तलाई बुझ्ने कुरामा मात्र होइन,त्यसलाई सर्वहारा वर्गको हितका लागि व्यवहारमा प्रयोग गर्नुुर्पने कुरा बताउँछ।
       
 माथि नै शुरुआत मै राखिएको छ,यस विषयमा माओ त्सेतुङले जुन कुरा बताउनु भएको छ,यसबाट मार्क्सको भौतिकवाद उत्पीडित सर्वहारा वर्ग र सिंगो मानवजातिको मुक्तिको दर्शन हो  भन्ने कुरा स्पष्ट हुन्छ। साथै यसबाट के कुरा पन स्पष्ट हुन्छ भने यस प्रकारको उद्श्ये प्राप्तिका लागि मान्छे स्वयं व्यवहारमा भिड्नु पर्छ। किनभने व्यवहारविनाको सिध्दान्त लंगडो हुन्छ।
 
( लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक , लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।