सरकारी कर्मचारीद्धारा नीतिनियमको उल्लङ्घन,काम गर्न छोडेर कार्यालयमै तीजको कार्यक्रम
अनुसा थापा
सरकारले हिजो सार्वजनिक बिदा दिएको थिएन् । तर, जडीबुटीस्थित सञ्चो बनाउने कार्यालयमा रोचक दृश्य देखियो । महिला कर्मचारी जम्मै रातो सारी पहिएर आएका थिए । उनीहरु कार्यालयको चौरमा रमिता देखाइरहेका थिए भने पुरुष कर्मचारीहरु उनीहरुको तस्बिर खिचिरहेका थिए।
सडकबाट हेर्नेहरुको लर्को थिए । यता, बसमा सवाररत यात्रुहरुले पनि नियालेर हेरिरहेका थिए । हिजो त्यहाँका कर्मचारीले कामै गरेनन् । दर खाए, तीज माने, गए । जनताको काम रोकेर तीज मनाउन मिल्छ कि मिल्दैन् ? कर्मचारीले यो सोचेको पाइँदैन् । सरकारी कार्यालयमा सारी ढल्काएर नाँचगान गर्न मिल्छ ?
सरकारी कर्मचारीको त ड्रेस हुन्छ । कर्मचारीहरु अफिसको ड्रेसमा आउने हो, काम गर्ने हो । सार्वजनिक बिदा भएको भएपनि भिन्दै कुरा हुन्थ्यो । सरकारी कर्मचारीले जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, लुगा लगाउँछन्, सरकारी गाडी चढ्छन् । सरकारी कर्मचारी ऐनकानुनले बाँधिएका हुन्छन् ।
सर्वसाधारणले महिना दिन अगाडिदेखि तीज मनाउन मिल्छ । तर, सरकारी कर्मचारीले मिल्दैन् । सरकारी कर्मचारी राष्ट्र र जनताप्रति सँधै जिम्मेवार हुनुपर्छ । आफूले गरेका कामले समाजमा कस्तो प्रभाव पर्छ ? सरकारी कर्मचारीले सोच्नुपर्छ । हिजो उनीहरुले काम गरेनन् ।
राज्यलाई घाटा भयो । उनीहरुले काम नगरेपनि राज्यले तलब त दिनुपर्यो । अर्कोतर्फ समाजमा एउटा नकारात्मक प्रभाव हेर्यो । त्यहाँ उभिएर हेरिरहेका सर्वसाधारणहरु अनेकौं टिकाटिप्पणी गरिरहेका थिए । सरकारी कर्मचारीकै बद्नामी भयो । एक महिना अघिदेखि सरकारी गाडीको प्रयोग बिहान बेलुका धेरै नै बढेको देखिन्छ ।
गाडीभित्र रातो सारी ढल्काएर तीज मनाउन निस्किएका महिलाहरु देखिन्छ । त्यो सरासर सरकारको सम्पत्तिको दुरुपयोग हो । सरकारले इन्धन दिनुपरेको छ, ड्राइभर दिनुपरेको छ । सरकारी गाडीको प्रयोग कामका लागि मात्र गरिनुपर्छ । तर, पछिल्ला दिन सरकारी गाडीको दुरुपयोग बढेको छ।
कर्मचारीप्रति आम सर्वसाधारणको असन्तुष्टि बढ्दै छ । निजामती कर्मचारीहरु आफूलाई ‘राष्ट्र सेवक’ कर्मचारी भन्छन्। सरकारी सम्पत्तिको दुरुपयोग गर्ने, काम नगरिकन तलब खानेहरु पनि राष्ट्र सेवक कर्मचारी ? ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्या यही होला। सरकारी कर्मचारी लोकसेवा लडेर आएका हुन्छन्।
निजामती कर्मचारीका निम्ति आचारसंहिताहरु छन्।तर, निजामती कर्मचारीले आचारसंहितालाई धोती लगाइदिएका छन्। राजनीतिक दलको झोले बन्यो अनि मनलाग्दी गर्यो । आज जनता सोध्छन्,‘जनताले तिरेको कर खोइ ? खाडीमा गएर नेपालीले घामपानी नभनिकन पठाएको रेमिट्यान्स खोइ ? झण्डै २७ खर्ब विदेशी ऋण खोइ ?
यसको जवाफ सरकारले अब दिनुपर्छ । न कतै विकास छ न सर्वसाधारणले सेवासुविधा नै पाएका छन् । सरकारी कर्मचारी तलब बढाऊ भनिरहन्छन् । तर, तिनीहरुले काम के नै गरेका छन्। विगतदेखि नै ‘दिन कटाउने र मानो पचाउने’ काम मात्र भइरहेको छ । बढीबढी तलब चाहिने, सेवासुविधा खोज्ने अनि जनताको काम गर्न छोडेर दिँउसै कार्यालयमा नाँचगान गर्ने ?
सरकारी कर्मचारी कतिसम्म भ्रष्ट र घुसखोरी छन् ? यो त सबैलाई थाहा नै भइसक्यो । सरकारी सम्पत्ति दोहन गरेर व्यक्तिगत सम्पत्ति जोड्ने यिनीहरु नै हुन् । कार्यालयका लागि पाँच हजारको सामान किन्छन्, बिसौं हजारको बिल बनाउँछन् । नयाँ सामान ल्याउन पाएको हुँदैन्, घरतिर दौडाइहाल्छन् ।
बिहान सवा १० बजे हाजिर भइसक्नुपर्नेमा १२ बजे ढल्कीढल्की कार्यालयमा आउने, अर्काको कोठामा गएर गफ ठोकेर बस्ने अनि २ बज्नेतिर टाप कस्ने त सरकारी कर्मचारीको प्रवृत्ति नै भइहाल्यो । प्रायः सरकारी कार्यालयमा क्यान्टिन चलाउने त्यहीभित्र कार्यरत कर्मचारी रहेको पाइन्छ ।
क्यान्टिन काम गर्ने अनि तलबचाँहि महिनैपिच्छे सरकारबाट लिने । २० लिटर इन्धन खर्च भयो भने ५० लिटरको बिल बनाउँछन् । गाडी लगेर ठोक्काउने अनि मर्मत गर्ने नाममा लाखौंको बिल पेश गर्ने । पाँच दिन फिल्डमा गएर महिनौं दिनको रेकर्ड बनाउने यिनीहरु नै हुन् ।
यस्ता कामचोर, भ्रष्टाचारी, घुसखोरीहरु पनि सरकारी कर्मचारी ! यस्तालाई सरकारी कर्मचारी भन्नुपर्दा जनतालाई हीनताबोध महसुश हुने गरेको छ । हुन त देशको माथिल्लो तहका व्यक्ति नै त्यस्ता छन् । अनि कर्मचारीमा त्यो रोग सरिहाल्छ नि । प्रधानमन्त्री गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गर्छन् ।
अर्थमन्त्री विष्णु पौडेलमाथि वालुवाटारको सरकारी जग्गा आफ्नो छोराको नाममा लगेको आरोप छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप छ । उपल्लो तहकाले यस्तो निच काम गरेपछि तल्लो तहकाले सिक्नु त स्वाभाविकै हो ।
सदनमा २७५ जना सांसद छन् । तर, सांसद पनि त्यस्तै भए । आउने, हाजिर गर्ने, निदाउने, सरकारी गाडी चढेर जाने । अहिलेका सांसदको केही कामै छैन् । जनताका लागि भार मात्र हुन्, उनीहरु । समाजमा के बेतिथि देखिएको छ ? कुन क्षेत्रमा सुधार आवश्यक छ ? जनताले सेवासुविधा पाएका छन् कि छैनन् ? सांसदहरुलाई थाहा छैन् ।
बेरोजगारी बढेको छ । गाउँ हुँदै शहर, शहर हुँदै विदेशिने क्रम बढेको छ । अहिले गाउँदेखि शहरसम्म रित्तो बनिसकेको छ । सबै विदेश । नागरिकता बनाउनेबित्तिकै पासपोर्ट अनि हानियो विदेश । नेपालमा बसेर केही नै नहुने परिसक्यो, जनतालाई । हुन पनि हो । के छ यहाँ ? यहाँ योग्यता होइन्, पहुँच खोजिन्छ ।
पहुँच हुने जति पदमा, अन्य सबै खाडीमा । मँहगीले सर्वसाधारणको ढाड सेकिएको छ । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जनताको आधारभूत आवश्यकता हो । नेपालको संविधानले नै जनताको आधारभूत आवश्यकतालाई मौलिक हकमा समेटेको छ । तर, खोइ त संविधानको कार्यान्वयन ?
संविधान देखाउनका लागि मात्र हो ? जनतालाई दुई छाक खान धौं धौं परिसकेको छ । जनतामा नैराश्यता बढेको छ । विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढेको छ । तर, सरकारलाई चासो नै छैन् । प्रधानमन्त्रीलाई हावा गफ सुनाउनै भ्याइनभ्याइ छ, सरकारी कर्मचारी त तलबभत्ता खान र सेवासुविधा लिन आएको भइगए ।
सरकारले विदेशी ऋण ल्याएर भएपनि तलबभत्ता खुवाइहाल्छ, काम किन गर्नुपर्यो ? भन्ने मानसिकता सरकारी कर्मचारीमा परेको छ । त्यसको उदाहरण त हिजो देखिहालियो । जनता तनावमा छन्, सरकार र सरकारी कर्मचारी मोजमस्तीमा । करको सदुपयोग नभएकाले जनता कर नतिर्ने मनशायमा पुगिसकेका छन् ।
जनताले तिरेको कर कहाँ गयो ? हिसाबकिताब छैन् । रेमिट्यान्स पठाएका छन्, त्यसको पनि लेखाजोखा छैन्। त्यतिले नपुगेर विदेशीबाट ऋण पनि ल्याएका छन् । जनताको आँखामा छारो हालेर राजनीतिक दल र सरकारी कर्मचारीले मोजमस्ती गरे। जनताको बल्ल आँखा खुल्दै गएको छ।
एउटा कुरा के पुष्टि भइसक्यो भने सरकारी कर्मचारीको जतिसुकै सम्पत्ति भएपनि उनीहरु घुस खान छोड्दैन्। जनप्रतिनिधिहरु पनि तलबभत्ता लिन र कमिशन खाने छोड्नेवाला छैनन् । यिनीहरु देशका लागि ‘साप’ हुन् । यस्ताबाट देशको सुधार हुँदैन् झन् अवस्था बिगिँदै जान्छ।