एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजनाको अवस्था गम्भीर
काठमाडौं। पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो।
प्रहरीका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। डीएसपी भुसालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ। एकजनाको अवस्था अलि सिरियस छ, २ जनाको अवस्था सामान्य छ,उनले भने।
प्रहरीका अनुसार एम्बुलेन्समा २ जना बिरामी र एकजना आफन्त सवार थिए। बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।