मानव बेचबिखनको फेरियो शैली,यसरी गरिन्छ युवतीलाई बेचबिखन

काठमाडौं। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार,घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्‍याउने गरिएको पाइएको छ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालले जनाएकाे छ।

‘विगत सात महिनामा काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरिएकाे छ भने ती अधिकांश किशोरी छन्। उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लिने गरेकाे छ।

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको छ भने नेपाली युवतीलाई भारतीय भूमि पु¥याएर भिजिट राहदानीमार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको छ। माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ।

‘एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पुर्‍याएर सिधै यौन शोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो भने, श्रम शोषण गर्ने शैली बदलिएको छ। सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ।

सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार सात सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ। यसमध्ये आठ सय एक जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ।

सीमामा रोकेर जाँच गरेर फर्काइएका आठ सय एक जनामध्ये १८ वर्ष मुनिका एक सय १९ जना नाबालिग थिए। माइती नेपालको तथ्यांकअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नाबालिगलाई घर पुर्‍याइएको छ।

 भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ताले बताउने गरेका छन्।

केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पुर्‍याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल जनाएकाे छ।  

भारतको सिलिगुढी, चेन्नाइलगायत सहरमा पुर्‍याएर ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको बताइन्छ। 

पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरूले बताउने गरेका छन्।