सहकारी ठगी प्रकरण: प्रमाणले घेरिए रवि,गृहमन्त्रीको निर्देशनपछि प्रहरीले बढायो सक्रियता

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने प्रमाणले घेरिएपछि फस्ने पक्का जस्तै भएका छन्। गृहमन्त्री रमेश लेखकले प्रहरीलाइ सक्रियता बढाउन आन्तरिक निर्देशन दिएको बुझिएको छ। सहकारी ठगी प्रकरणले रवि चौतर्फी घेरामा परेपछि फस्ने पक्का भएको छ।

संसदीय छानबिन समितिले बयान लिएपछि कांग्रेससँग प्रमाण मागिरहेका पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरीले बयान लिएपछि भने सार्वजनिक रुपमा बोल्न छाडेका छन्। त्यसमाथि उनीसँगै नाम जोडिएका २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी हुनु र जीबी राई खोज्न सरकारले कम्मर कसेपछि रवि थप झस्किएका छन्।

समसामयिक घटनाक्रममा विचार राखिहाल्ने र संसद अवरोध हुँदा पनि बोल्न पाउनु पर्ने अडान लिने रवि लामिछानेले केही दिनयता सार्वजनिक अभिव्यक्ति दिएका थिएनन्। तर, लामो मौनता तोड्दै धनगढी पुगेका रविले सहकारी प्रकरणबारे बोलेका थिए।

संसदीय छानविन विशेष समितिले बयान लिएपछि चितवन पुगेर प्रमाण मागेका रवि लामिछाने प्रहरीले बयान लिएपछि भने गुमनाम बनेका थिए। तर,प्रदेशस्तरीय कार्यक्रमका लागि धनगढी पुगेका रविले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन्।

यसअघि उनी यो बारेमा पनि आफूलाई थाहा नभएको बताउँदै आएका थिए। तर त्यसमा आफू भने संलग्न नरहेको जिकिर गरेका थिए।

संसदीय छानविन समितिमा रविले पूर्णतः इन्कारी बयान दिएका थिए। गोर्खा मिडिया नेटवर्कमा आबद्ध हुँदा अध्यक्ष जीबी राईले गरेको आर्थिक व्यवस्थापनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए। तर, एक टेलिभिजन अन्तरवार्ताका क्रममा भने समिति सभापति सूर्य थापाले पनि मिडियाको कारोबारमा लामिछाने पनि हिस्सेदार रहेको निष्कर्ष सुनाएका थिए।

तर, रवि झस्किनुको कारण प्रहरीले लिएको बयान हो। समितिमा बयान दिएलगत्तै चितवन पुगेर कांग्रेससँग प्रमाण मागिरहेका बेला प्रहरीले बयान लिन पोखरा बोलाइरहेको थियो। रविले चितवनको कार्यक्रम सकाएर मात्रै आउने भनेपछि प्रहरी आफैँ काठमाडौं आएको थियो।

भदौ आठ गते पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको प्रहरीले १० गते लामिछानेसँग ठाडो बयान लिएको थियो।

यससँगै सूर्यदर्शन सहकारी ठगीमा गत साउनमा मात्रै रवि बाहेक २५ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि रवि थप सशंकित बनेका छन्।

उनलाई तत्कालै संकटमा पारि नहाल्ने तर, साइजमा ल्याउने कांग्रेस एमालेको रणनीति देखिन्छ। आफू गृहमन्त्री भएका बेला प्रहरीबाटै क्लीन चिट लिएर हिँडेका रवि अहिले समितिले छानविन गरिरहेकै समय प्रहरीले पनि सक्रियता देखाएपछि थप झस्किएका हुन्।

यहीबीचमा दुई वर्षदेखि फरार रहेका गोर्खा मिडियाका अध्यक्ष जीबी राई अझै भेटिएका छैनन्। पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नै भगाएको र रवि लामिछानेले समेत खोज्न नसकेको जीबी खोज्न अहिलेका गृहमन्त्री रमेश लेखक सक्रिय बनेका छन्।

सत्ताबाट बाहिरँदै गर्दा रविले जीबीको लोकेसन मलेसियमै ट्रयाक भएको बताएका थिए। केही दिनअघि मात्रै जीबी मलेसियाको समुद्री क्षेत्रमा बोटिङ गरिरहेको तस्बिर सार्वजनिक भएको थियो। त्यही आधारमा प्रहरी मलेसिया पुगे पनि रित्तै नेपाल फर्किएको थियो।

यसबारे औपचारिक उपलब्धि प्रहरीले बताएको छैन। तर प्रहरीले जीबीबारे थप कागजात इन्टरपोललाई पठाएको छ। यसले उनको खोजीमा थप सहयोग पुग्नेछ।

अर्थात,रवि गृहमन्त्री भएका बेला जोगाइएको आरोप लागेका जीबी खोज्न प्रहरी लागिपरेको छ। उसै पनि जीबी भागिरहनुले रविलाई फाइदा हुने अर्थमा हेर्ने गरिन्छ। तर उनको पनि जोडतोडका साथ खोजी हुन थालेपछि रवि लामिछाने साइजमा आएको देखिन्छ।

संसदीय समिति र प्रहरीले गरिरहेको छानबिनले रविलाई कानुनी कठघरामा उभ्याउन सक्ने सम्भावना रहेकोसमेत विश्लेषण भइरहेको छ। यसले उनी अफ्ठ्यारोमा पर्दै गएको देखिन्छ।

त्यस्तै काँग्रेस र एमालेले रविलाइ जसरी भएपनि साइजमा ल्याउने र दोषी करार गरेर चौरासीमा पत्तासाब गर्ने मूल उद्देश्य रहेको देखिन्छ। काँग्रेसले त रविलाइ नै साइजमा ल्याउन उनिमाथि छाविन गर्न संसदीय छानविन समितिको माग गर्दै पटकपटक संसद अवरूद्ध गरेपछि समिति बनाएर छाबिन सुरू गरिएको थियो।