देशका सुरक्षाकर्मीः मागेर गुजारा गर्नेलाई लखेट्छन्,देश बेच्नेलाई सम्मान गर्छन्

फाइल तस्वीर

राष्ट्रपति होस् या भूपू राजा विभिन्न चाडबाडमा मन्दिरमा पूजापाठ गर्न जान्छन् । राष्ट्रपति सवारी हुने भन्नेबित्तिकै सुरक्षाकर्मीको लहड लाग्छ। राष्ट्रपतिलाई घेरा लगाएर दर्शन गर्न ठाउँसम्म पुर्याउँछ । जनतासँग बोल्न दिँदैनन् । मन्दिरको अवस्था के–कस्तो छ ? जनताको समस्या के छ ? राष्ट्रपतिले त्यो बुझ्दैनन्।

वा, सुरक्षाकर्मीले बुझ्न दिन चाहँदैनन् । घेराबारा हालेर ल्याउँछन्, घेराबारा हालेरै लैजान्छन् । राष्ट्रपति आउने भएपछि मन्दिरको महिना दिनअगावैदेखि सरसफाइ शुरु हुन्छ । रंगरोगन गरिन्छ । दिँउसो १ बजे राष्ट्रपति आउने छन् भने बिहानदेखि सर्वसाधारणलाई पूजाआजामा प्रतिबन्ध लगाइन्छ ।

उनीहरुलाई जान दिँइदैन् । मन्दिरमा सरसफाइ हुन र मर्मत सम्भार हुन उच्च पदस्थ आउनैपर्छ । मन्दिर करोडौं हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो । तर, फोहोर पारेर राखिएको हुन्छ । न पानीको व्यवस्थापन हुन्छ न विश्रामस्थलको । शौचालय हुँदैन् । मन्दिरको जताततै फोहोरैफोहोर देखिन्छ ।

उच्च पदस्थ आउने भनेपछि रातारात मन्दिर चकाचक सफा पारिन्छ । उच्च पदस्थले त जनताको कुरा सुन्नुपर्छ, बुझ्नुपर्छ । उनीहरु जाँदा त मन्दिर सरसफाइ गरिहालिन्छ । भक्तजनसँग राम्रो व्यवहार गर्याजस्तो गर्छन् । तर, अन्य दिन जनताले कस्तो समस्या भोगेका छन् ? यो बुझ्नुपर्यो ।

देशको राष्ट्रप्रमुख होस् या राजा उनीहरु सबै जनताका सेवक हुन् । जनताको लागि काम गर्न त्यो पद राखिएको हो । तर, उनीहरु अर्काले तपाईँ भनोस् कि नभनोस् आफैं मपाईँ भने । जनतामा हामी को–को न हौं भन्ने देखाउन खोज्छन् । जनताको समस्या नै नबुझ्ने पनि के राष्ट्रप्रमुख ?

जतिबेला पनि सुरक्षाकर्मीको घेराबारामा हिँडेको छ । जनतालाई दुःख दिएको छ । राष्ट्रपति आउने भन्नेबित्तिकै सुरक्षाकर्मीहरुले मन्दिरमा मागेर गुजारा गर्नेहरुलाई लखेटछन् । अपाङ्गता, वृद्धवृद्धालाई त्यहाँबाट धपाउँछन् । माग्न पनि नदिने अनि चोर्न जाने ? यसको जवाफ दिनुपर्यो ।

यस्तो पनि राष्ट्रपति र राजा ? भन्न पनि लाज लाग्दो । गरिब भएपनि ऊ देशको नागरिक हो । उनीहरुलाई माग्न बाध्य देखाउन देशका नेतृत्वकर्ताहरु न हुन् । उनीहरुले देशलाई सही गन्तव्यमा लगेको भए सायदै कोही मागेर गुजारा गर्थ्र्यो होला । आफ्नो जनताले माग्दा लाज लाग्ने राष्ट्रपति र राजाले उनीहरुको व्यवस्थापन गरिदिनुपर्यो ।

जनताले आफ्नो गुनासो सुनाउन पाउनुपर्छ । मागेर गुजारा गर्नेको चाँहि समस्या हुँदैन् ? उनीहरुलाई पनि त आफ्नो वेदना पोख्न मन लाग्दो हो । भूपू राष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीश, मन्त्री कोही कहिले एक्लै हिँड्दैनन् । बलिउड फिल्मको हिरोजसरी अगाडिपछाडि सुरक्षाकर्मीको लहर लगाएर हिँड्छन् ।

जनताको कुरै सुन्दैनन् भने उनीको समस्या कसरी सम्बोधन गर्छन् ? राष्ट्रपतिले सडकमा हिँड्नै हुन्न भनेर कतै लेखिएको छ ? छैन् नि । अनि सडकमा हिँड्न र सर्वसाधारणको समस्या बुझ्न केको लाज ? जनताले त उनीहरुलाई केही गर्दैनन् । जनताको अगाडि डराउने हो भने उनीहरुका लागि कसरी काम गर्ने ?

पछिल्लो समय बाटोमा माग्नेको संख्या बढेको छ । देशको हरेक आकाशे पुलमा माग्नेको लर्को देखिन्छ । तर, सरकारको त्यसतर्फ ध्यान छैन् । देशको अवस्था के छ? राष्ट्रपतिलाई भन्दा बढी महाबौद्धमा भारी बोक्नेलाई थाहा छ । उनीहरुलाई सोध्यो भने,‘आर्थिक मन्दी छ’ भनेर जवाफ दिन्छन् ।

किन कि उनीहरुलाई बजार डामाडोल छ भन्ने कुरा थाहा छ । हिजो एक हजार कमाइ हुन्थ्यो भने आज सय हुन मुश्किल छ । यद्यपि, सरकारलाई यो कुरा थाहा छैन्। सडकमा माग्नेको संख्या किन बढ्यो ? सरकारलाई सायदै थाहा होला । बैंक तथा वित्तिय संस्थाले घरबास उजाडिदिएपछि धेरै माग्न सडकमा आइपुगेका छन् ।

यता, बैंक तथा वित्तिय संस्थाकै कारण जनता आत्महत्याको बाटो रोज्न बाध्य छन् । मँहगी छ, जनतालाई गुजारा गर्न समस्या छ । तर, सरकारलाई थाहा छैन् । भारतको प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री भएपछि नेपाल आए । सोल्टीमोडबाट फर्किँदै गर्दा उनले गाडी रोकेर नेपाली जनतासँग हात मिलाए ।

कुदिरहेको गाडी रोकेर जनतासँग कुराकानी गरे । नेपालका उच्च पदस्थलाई भन्दा भारतका उच्च पदस्थले नेपाली जनताको सम्मान गरे । हाम्रो मुलुकको उच्च पदस्थहरु कहिले जनतासँग भेट्दैनन्, उनीहरुको गुनासो सुन्दैनन् । हाम्रा नेतालाई जनतालाई भेट्न नहुने, जनताको कुरा सुन्न नहुने तर जनताले तिरेको करमा मोजमस्ती गर्न हुने ।

यत्रो सुरक्षाकर्मी राख्दा पनि आफ्नो ज्यानको डर हुनु वास्तवमै आश्चर्यचकित छ । जनतालाई विगतदेखि नै दासी बनाइएको छ । लोकतन्त्र, गणतन्त्रको नाम दिएर जनताको शोषण गरिएको छ । मिर्गौला पीडितको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ । उनीहरु उपचारका लागि सहयोग मागिरहेका हुन्छन् ।

आँखा नदेख्नेहरु सडक किनारा गीत गाएर माग्छन् । कलिला बालबालिकाहरु खानका लागि हात फैलाइरहेका छन् । जनता खान र उपचार नपाएर आफू पनि मर्छन्, आफ्ना बालबच्चा पनि मार्छन् । अनि प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, सरकारी कर्मचारीचाँहि जनताले तिरेको करले नपुगेर विदेशीबाट समेत ऋण लिन्छन् ।

यिनीहरुले जनताले तिरेको कर, रेमिट्यान्स र ऋण नउडाएको भए त जनताको मुख फेरिन्थ्यो होला नि । देश बेचेर ऋण लिने उनीहरु, अनि लखेटिनुपर्नेचाँहि जनता। बाटोमा मागेर पनि खान नपाउने ? लाज त देश बेच्नेहरुलाई हुनुपर्ने हो । तर, लखेटिनुपरेको छ जनता ।

यस्तै रहेछ, यहाँको लोकतन्त्र र गणतन्त्र । ‘ठूलालाई चेन र सानालाई ऐन’ भन्थे, सायद यही नै होला । देशको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला फेर्दा जनताले तिरेको करबाट अर्बौं रुपैयाँ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सामान्य पेट दुख्दा भारत लगियो । ५५ लाखको बिल पेश गरियो ।

यी दुईले मात्र होइन् अन्यले पनि राज्यको ढुकुटीबाट उपचारका नाममा करोडौं रुपैयाँ लिएका छन् । जनताचाँहि सध्ये हुँदापनि गरिबीले गर्दा मर्नुपरेको छ । विदेशमा नेपालीले रगत पसिना बगाएका छन् । उनीहरुले पठाएको रेमिट्यान्स पनि सखाप बनाइयो । अनि यस्तालाई कुन मुखले नेता भन्ने ?

नेता त यस्ता हुँदैनन् । नेता त्यागी हुन्छन्, देश र जनताका लागि जे गर्नपनि तयार हुन्छन् । राज्यको ढुकुटीको दोहन गर्ने व्यक्तिलाई नेता भन्नु नेपालीका लागि दुर्भाग्यको कुरा हो । बाटोमा माग्न बस्नेको न जन्मदर्ता हुन्छ न नागरिकता । न उसले राज्यबाट पाउने सेवासुविधा पाउँछ।

देश बेच्छ भनेर तिनलाई नागरिकता नदिएको हो ? मागेर खानेलाई राज्यले हरेक सेवासुविधाबाट वञ्चित गराएको छ। गरिब हुनुमा उनीहरुको के दोष ? चोरेर खाएको भन्दा त मागेर खाएको ठीक होला नि होइन् ? सरकार रोजगारी दिन नसक्ने अनि माग्नेलाई लखेट्न ?

अब यिनीहरुलाई होइन्, राष्ट्रपति, प्रधानमन्त्रीलाई लखेटौं। सुरक्षाकर्मी पनि देश बेच्नेलाई लखेट, नाकि कसैले दयाले दियो भने पेट भर्नेलाई। गरिब छ भन्दैमा हेप्न नखोज । भारत र चीनले कब्जा गरेको नेपाली भूमि सुरक्षाकर्मी फिर्ता ल्याउन सक्दैनन् । बरु, गरिबमाथि दमन गर्न खोज्छन्।

सुरक्षाकर्मीलाई जनताको प्रश्न,‘देश सिद्धयाउनेलाई सुरक्षा दिएर के फाइदा ?’ मँहगी बढेको छ, भ्रष्टाचार बढेको छ, वैदेशिक ऋण बढेको छ, नेपालीको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको छ।

यो सब त्यही नेताहरुको कारणले होइन् ? नेताहरुले देश र जनताभन्दा हामी ठूला हौं झैं गरे। हामीभन्दा ठूलो देश र जनता हो भन्ने यिनीहरुले सोचेनन् । जसको परिणाम कुनैदिन यिनीहरुले भोग्ने नै छन्।