प्रधानमन्त्रीले मन्त्रीहरूलाई सिंहदरबार बोलाए
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रीलाई सिंहदरबार बोलाएका छन्। आज दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन्।
जनचाहना अनुसार काम गर्ने भन्दै गत असार ३० गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेको थियो। तर, २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरुको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको बेला उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन्।
अधिकांश मन्त्रीहरु काममा भन्दा बढी विवादमा पर्दै आएका छन्। आज मन्त्रीहरुले गरेको प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव प्रेमप्रसाद आचार्यले जानकारी दिए।
आज मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।