संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं। संवैधानिक परिषद्को बैठक आज बस्दैछ। आज (शुक्रबार) साँझ पाँच बजे परिषद्को बैठक बस्ने भएको हो।

संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधबारै बस्नेगरी परिषद्को बैठक बोलाएका थिए। तर, बुधबार बस्दै नबसी स्थगित भएको बैठक आज बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुने बताइएको छ। आजको बैठक सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।

त्यसैगरी आजको बैठकमा विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदपूर्ती गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। हिजोको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले संवैधानिक निकाय लामो समय रिक्त राख्न नहुने बताएका थिए।