वीर अस्पतालमा जलन उपचार केन्द्र पुनः सञ्चालनमा, बिरामीलाई १ लाखसम्म सहायता दिने मन्त्री पौडेलको घोषणा

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य मन्त्री पौडेलले शुक्रबार उक्त केन्द्रको सेवा शुभारम्भ गरे। सो कार्यक्रममा मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले रु १ लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरे।

विगतमा सञ्चालनमा रहेको वीर अस्पतालको जलन उपचार सेवा २०७२ को भूकम्पपछि बन्द थियो। शुक्रबारदेखि अत्याधुनिक सुविधा र उपकरणसहित उक्त सेवा पुनः सञ्चालनमा आएको हो।

डा.केडी जोशी जलन उपचार केन्द्र’ नामबाट सुरु गरिएको उक्त केन्द्रमा हाल १० वटा जनरल बेड, ५ वटा आईसीयू र ३ वटा अप्रेसन थिएटर सञ्चालन गरिएको छ।

नेपालमा पहिलोपटक आगो वा अन्य माध्यमबाट पोलेका या जलेका बिरामीको आधुनिक उपचारको सुरूवात वीर अस्पतालबाटै २०४३ सालमा तत्कालीन वरिष्ठ प्लाष्टिक सर्जन डा.केशवदास (केडी) जोशीले गरेका थिए। अहिले सञ्चालनमा ल्याइएको जलन उपचार केन्द्र उनकै नामबाट नामाकरण गरिएको हो।

सरकारले हाल क्यान्सर तथा मृगौला रोग लगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि रु १ लाख आर्थिक सहायता दिँदै आएको छ। स्वास्थ्य मन्त्रीको घोषणासँगै अब गम्भीर जलनका बिरामीले पनि सरकारबाट रु १ लाखसम्म उपचार खर्च पाउने भएका हुन्।

मन्त्री पौडेलले उपचारको अभावमा जलनका बिरामीको ज्यान जाने गरेकाले सरकारले त्यस्ता बिरामीहरुको उपचारका लागि वीर अस्पतालमा केन्द्र स्थापना गरेको र आर्थिक सहायताको व्यवस्था पनि गर्न लागेको बताए। आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको उनको भनाइ छ।

मन्त्री पौडेलले भने,आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ। खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरु पनि थुप्रै हुनुहुन्छ।

जीवनभर शारीरिक अपांगता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ। यो एउटा एक्सिडेन्टल समस्या हो। यो जानेर हुने कुरा होइन। त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ।

यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौं। स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेर पठायो । त्यो प्रश्ताव स्वीकृत भएको छैन।

माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्युले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुप¥यो। त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ।

आज वीर अस्पतालमा वर्न बार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ। अव यो भएपछि म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु–यो जलन उपचारमा सेवा सुविधा दिनेगरी एक लाख रुपैयाँ दिने व्यवस्था हामीले तत्काल गर्नेछौं। यो कुराको कमिटमेन्ट म गर्न चाहन्छु।

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए। उनले बिरामीहरुको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि जानकारी गराए।