जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोहलाई के भन्नेः नेता बस्नेत

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले सत्तारूढ दलका सांसदले माओवादीको १० वर्षे जनयुद्धुको अपमान र अवमूल्यन गरेको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बस्नेतले माओवादीको दस वर्षे जनयुद्धुलाई हिंसा भनेर संविधान, विस्तृत शान्ति सम्झौता र क्रान्तिलाई नै अपमान गरेको बताएका हुन्।

उनले माओवादीको जनयुद्धलाई हिंसा भन्दा त्यसअघि विभिन्न कालखण्डमा भएका संघर्षहरूलाई के भन्ने भनी प्रश्नसमेत गरे।

क्रान्तिलाई हिंसाको रूपमा ब्याख्या गर्ने हो भने झापा आन्दोलनलाई उग्र बामपन्थी भड्काव मात्र भन्ने कि हिंसात्मक गतिविधिरु २००७ साललाई के भन्ने? उनले भने।

बस्नेतले माओवादीको जनयुद्ध समस्या नभई समाधान भएको पनि बताए।

१० वर्षे जनयुद्धले छायामा पारिएको संविधान सभा गणतन्त्र लगायतका एजेन्डालाई राष्ट्रिय कार्यसूचीमा ल्याइदिएको मात्रै होइन त्यसका लागि बलियो आधार र शक्ति सन्तुलनको परिस्थिति सिर्जना भएको थियो। त्यही जनयुद्धको जगमा भएको संयुक्त जनआन्दोलनले राजतन्त्रलाई बिदाइ गर्‍यो।

र संविधानसभा मार्फत समाजवाद उन्मुख राज्यसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, उनले भने,त्यसकारण दस वर्षे जनयुद्ध र सशस्त्र संघर्ष समस्या नभएर मूलभूत रूपमा समाधान थियो।

उनले हरेक क्रान्तिभित्र केही सिमा हुने तर त्यसको मूल्यांकन आंशिक रूपमा प्रकट हुने सीमाको आधारमा नभई आन्दोलनको मूल प्रवृत्तीमा गर्नु राजनीतिक मूल्य र संस्कार हुने बताए।

त्यसकारण संसदमा सत्तारूढ दलकै सांसदले जनयुद्धुलाई अपमान गर्नेगरी प्रयोग गरेको हिंसा शब्द रेकर्डबाट नहटाइएसम्म माओवादीको विरोध जारी रहने उनले बताए।