क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं। नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ। नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो।

२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो। नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए।

ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए।

क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए। अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए। सादविन जाफरले १ विकेट लिए।

त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो। एक समय ४० ओेभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो।

कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले। नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए।

नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए। सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १(१ विकेट लिए। नेपालले बुधबार ओमानसँग खेल्नेछ।

नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ। क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ। नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।