बरिष्ठ पत्रकार पाण्डेको स्मृतिमा एक लाख राशीको अक्षकोष

काठमाडौं। जनपत्रकार संगठन नेपालले बरिष्ठ पत्रकार तथा संगठनका सचिावालय सदस्य सुदर्शनराज पाण्डेको स्मृतिमा १ लाख राशीको ‘सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।

संगठनले बरिष्ठ पत्रकार पाण्डेको नाममा स्थापना गरिएको अक्षकोषको व्याजबाट समाज परिवर्तनमा योगदान दिने एकजना पत्रकारलाई बार्षिक पुरस्कृत गर्ने जनाएको छ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलवार कलंकीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पाण्डेको नाममा १ लाख राशीको अक्षकोष स्थापना गर्ने घोषणा गरे।

उनले समाज परिवर्तनमा योगदन दिने,क्रान्तिकारी प्रगतिशील विचार राख्ने पत्रकारहरु मध्यवाट छनौट गरी पुरस्कार राशी वितरण गरिने बताए।

अध्यक्ष विश्वकर्माले परिवारका सदस्य र जनपत्रकार संगठन नेपाल संरक्षक हुने गरी अक्षकोष स्थापना हुने र सोही अनुसार संचालन गर्ने जानकारी दिए। उनले इच्छुक व्यक्ति तथा संस्थाहरुलाई समेत अक्षकोषमा रकम सहयोग गर्न सकिने बताए।

उनले भने ‘हाम्रो संगठनाका सचिवालय सदस्य समेत रहेका वरिष्ठ पत्रकार,क्रान्तिकारी विचारका धनी सुदर्शनराज पाण्डेको नाममा एउटा अक्षकोष बनाउदैछौ यो परिवारका सदस्य र संगठनको सहभागीतामा हुनेछ, यो अक्षकोषको रकमको बार्षिक व्याजबाट प्रत्येक वर्ष समाजका लागि योगदान पुर्याउने र कलम चलाउने व्यक्तिलाई पुरस्कृत गर्नेछौ। यसमा सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न सक्नुहुनेछ।

सो क्रममा नेकपाका पिविएम माईला सीले पनि अक्षकोषमा काठमाडौ जिल्ला पार्टीको तर्फबाट सक्दो रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वरिष्ठ पत्रकार पाण्डेको जापानीज इन्सेफलाईटिस संक्रमणका कारण गत भाद्र २७ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा दुखत निधन भएको थियो।