शिक्षा क्षेत्रका असमानता हटाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग,क्षेत्र,लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

‘लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्न आवश्यक छ ’, उनले भनेका छन्।

सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारणरप्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

यसवर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता स् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८१ देशभर मनाउन लागिएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गरेका छन्।