सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ: मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ।

बुधबार मन्त्रालयमा विजया दशमी,दीपावली,छठलगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिट्टै निर्णय लिने जानकारी दिनुभएको हो। उहाँले इन्धनको मूल्य घट÷बढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो।

मन्त्री दाहालले सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो।

उहाँले सवारी चालक अनुमतिबारे ड्यु रहेका करिब २१ लाख लाइसेन्स सङ्घ सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताउनुभयो। उहाँले लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम सुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो।

‘‘सवारी चालक अनुमति पत्रको बारेमा धेरै टाउको दुखाई गरिसकेका छौँ। के–के गर्ने भनेर हामीले रोडम्याप नै बनाइसकेका छौँ। २०७२ सालदेखि प्रदेशले नै यो काम गर्नु पर्दथ्यो । तर यो काम सङ्घले गरिरहेको अवस्थामा यो सङ्घकै जिम्मेवारी भन्ने बुझाइ रह्यो। मन्त्री दाहालले भन्नुभयो, ‘‘हामीसँग केही ड्यु छन्।

त्यो ड्यु भएको हामीले पूरा गर्ने भनेको छौँ। २०-२१ लाख जति हामीले अहिले छापेर दिनुपर्ने अवस्था छ। त्यो जसरी पनि हामीले छापेर दिन्छौँ। कोशी प्रदेशले अस्थायी कार्ड पनि दिन सुरु गरेको छ। क्युआर कोर्ड हुन्छ। त्यसमा रसिद क्यु आरकोर्डसहितको दिऔँ भन्ने पनि छ।

भौतिकमन्त्री दाहालले बढीभन्दा बढी यात्रुलाई सुविधायुक्त ढङ्गले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो।