रास्वपा–रविको भ्रम छोप्ने कोशिस गर्दै, नेताहरूको उग्र बोलीले समाजमा तमासा

काठमाडौं। राजनीति सङ्ग्लो भए समाज सङ्ग्लो हुन्छ। राजनीति सहि भए,समाज सहि हुन्छन्। तर, राजनीति नै दाउपेचको खेलमा जुट्दा समाज तहसनहस हुने खतरा रहन्छ। नेपालमा बेलगाम ढंगले राजनीति अघि बढ्दै गर्दा बिग्रिएको माहोललाई नेताहरुले थप बिगार्न थालेका छन्।

काम गर्न नसक्ने तर दोष जति अरुलाई थोपर्ने, नेपालको राजनीतिक परिवेशमा यस्तै उछलपुछलले समाज भड्किने खतरामा पुगेको छ।

राजनीतिक दलहरु सत्यलाई स्वीकार नगर्ने र भ्रम छर्न तम्सिने गर्नाले संविधानदेखि प्रणाली र फालिसकेको राजतन्त्रको समेत शिकार बनिरहन्छन्। सहकारी वचत रकम अपचलनको प्रकरणले यो विषय थप सतहमा आएको छ।

सहकारी ठगीबारे संसदीय छानविन समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी संस्थागत रुपमै सत्यलाई ढाकछोप गर्दै आफ्ना कमजोरी लुकाउने काम गर्न लागि परेको देखिन्छ। रविलाई संसदीय समितिले क्लिन चिट दिएको भन्दै तथ्य लुकाउँदै गलत र भ्रम छरेर रास्वपाका नेताहरुले राजनीतिक खेलोफड्मा जोडबल गरिरहेका छन्।

रास्वपाले जस्तै भ्रम छर्ने कामका लागि बेलगाम बोल्न अन्य दलका नेताहरु पनि कम छैनन्। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यसरी नै सरकारलाई आरोपित गरिरहेका छन्। आफू नेतृत्वको सरकार ढाल्दा भ्रष्टाचारी जोगाउने काम चलेको प्रचण्डले दाबी गरिरहेका छन्।

माओवादीले निरन्तर गिरीबन्धु प्रकरणमा प्रधानमन्त्री केपी ओलीलाई जोड्न खोजिरहेको देखिन्छ। तर, प्रचण्डले गिरीबन्धि प्रकरणमा के कारण थियो ? तथ्य के थियो भन्ने विषय भन्दा पनि सार्वजनिक रुपमा उठेका प्रश्नलाई नै साहारा लिएको देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मात्रै होइन प्रधानमन्त्री केपी ओली पनि बेलगाम बोलेर भ्रम छर्न कम छैनन्। अनेक टिप्पणी गर्ने र शब्द चयनको तल्लो स्तरसम्मै झर्ने नेताको शीर्ष सूचीमा पर्छन् केपी ओली। कहिले काठमाडौं महानगरपालिकाका प्रमुख त कहिले पूर्वराजाबारे टिप्पणी गर्दै रमाइलो गर्छन् उनी।

आफूलाई विकासको संवाहक ठान्ने प्रधानमन्त्री ओली नेपालको शिक्षा क्षेत्रमा भइरहेको कमजोरीमा राजाको दोष देखाउने काममा सक्रियता देखिन्छ।विश्वका धेरै मुलुकले २० वर्षमा ठूलो छलाङ मारेका थुप्रै उदाहरण हुँदा पनि ओलीले अहिले पनि १८ वर्ष पहिले शासनमा रहेका राजालाई दोष थोपारिरहेका छन्।

बेलगाम बोली बोल्ने नेताहरुको सूचीमा यतिमात्रै होइनन् । कम बोल्ने कांग्रेस सभापति शेरबहादुर देउवा पनि झनक झनक झोक्किने र आवेग भावमा पेश हुने गर्छन्। कहिले व्यापारीले सरकार बनाउन ठूलो मदत गरे भनिदिन्छन् त कहिले विरोध गर्नेविरुद्ध हप्काउने गरिदिन्छन्।

यसरी दलका नेताहरु बेलगाम बोल्ने र समाजलाई भड्काउने काममा तीब्र रुपमा सक्रिय बन्न थालेको देखिन्छ। पुराना र लोकतन्त्रका लागि लडेका दल र नेता हुन् वा अन्य नयाँ दल र नेताहरु नै किन नहुन, बेप्रवाह अभिव्यक्ति दिने कारण मुलुकको सार्वजनिक छवी नै धुमिलिन थालेको देखिन्छ।