सहकारी ठगी प्रकरणमा रवि र गगनबीचको लडाइँ उग्र बन्दै,कस्को होला त जीत ?

काठमाडौं।सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र काँग्रेसका महामन्त्री गगन कुमार थापाबीचको लडाइँ कस्ले बाजी मार्ला भन्ने चासो बढ्दै गएको छ। र रवि र गगनबीचको लडाइँ अहिले उग्र बन्दै जाने अवस्था सृजना हुँदै गएको छ।

पछिल्लो विकसित र युवा राजनीतिमा सबैभन्दा प्रतिस्पर्धा देखिएकामध्ये दुई पात्र हुन् रवि लामिछाने र गगन थापा। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गठन गरेका रवि सबै दलहरुका लागि चुनौतिको रुपमा खडा भइरहेका छन्। उता गगन पनि ठूलै विरासत बोकेको नेपाली काँग्रेसको महामन्त्रीजस्तो महत्वपूर्ण पदमा छन्।

वर्तमान राजनीतिमा यी दुवै पात्रको महिमा उत्तिकै छ। तर भर्खरै राजनीतिमा आएका रवि संसदमा चौँथो दलको नेताका रुपमा प्रतिनिधित्व गर्छन्।

उता काँग्रेस पहिलो दल भएपनि संसदमा गगनको ठूलै प्रभाव पार्ने ल्याकत छैन। त्यस्तै छोटो समयमै दुई दुई पटक गृहमन्त्री बनेका रवि राजनीतिमा गगनभन्दा केही हदसम्मसफल देखिन्छन्। यस कारण पनि रवि–गगनबीच राजनीतिक टकराव चल्ने गरेका छन्।

रवि–गगनबीच सहकारी प्रकरणमा उच्च स्तरकै टकराव चल्यो। सहकारीबाट निवेदन नै दिएर रकम माग गरिएको आरोप लगाउँदै यथेष्ठ प्रमाण रहेको दावी गरेका गगनसामु रविले आफू दोषी प्रमाणित भए राजनीति छोड्ने र नभए गगनले छाड्नुपर्ने शर्त राखे। यो शर्तलाई गगनले पनि स्वीकार गरेका थिए।

संसदीय छानविन समितिले नै वयान लिइसकेपछि पनि रवि–गगनविच दोहोरी चल्यो। वयानपछि संसदीय छानविन समितिले आफूविरुद्ध प्रमाण नभेटेको अभिव्यक्ति दिएका रविलाई गगनले संसदबाटै जवाफ फर्काए।

तर भर्खरै संसदमा बुझाइएको छानविन समितिको प्रतिवेदनमा सहकारीको रकम लिनका लागि रविले निवेदन नै दिएको भन्ने उल्लेख छैन। तर गैरकानूनी ढंगबाट गोरखा मिडिया प्रालिमा आएको सहकारीको रकम खर्च गरेवापत संचालकहरुलाई कारवाही गर्न समितिले सिफारिस गरेको छ।

रवि पनि तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्धक हुन् । तर यस प्रतिवेदनलाई लिएर रविले भने आफू निर्दोष सावित भएको आशाय व्यक्त गर्दै रास्वपालाई फसाउने योजना विफल भएको दावी गरिरहेका छन्।

रास्वपाका अन्य नेताहरुले पनि छानविन समितिले क्लिन चिट दिएको अभिव्यक्ति दिँदै रवि निर्दोष भएको टिप्पणी गरिरहेका छन्।

समितिको प्रतिवेदन र रास्वपा सांसदहरुको यो तर्कले सहकारी प्रकरणमा रवि दोषी रहेको जिकिर गर्दै आएका गगनमाथि गम्भीर प्रश्न खडा भएकोे थियो।

संसदमै दावी गरेजस्तो सहकारी ठगीमा रविको पृष्ठभूमी नजोडिएपनि गैर कानूनी ढंगबाट आएको रकम खर्च गरेवापत कारवाही सिफारिस भएकोबारे गगनको तत्काल कुनै प्रतिकृया दिएनन्।तर चौतर्फी प्रश्न र आलोचनापछि गगनले रविमाथि बाहिरै बसेर ठगी गरेको भन्दै मुख खोलेका छन्।

यसरी संसदीय छानविन समितिको प्रतिवेदलाई रास्वपा र गगनले आ–आफ्नै स्वार्थगत कोणबाट व्याख्या गरिरहेका छन्।

मुख्यगरी यो प्रतिवेदनले रविले आफूलाई निर्दोष दावी गरेको विषयलाई पनि पुष्टि गर्न सकेको छैन। अर्कोतर्फ गगनले निवेदन नै दिएर सहकारीबाट रकम लिएको भन्दै रविमाथि लगाएको आरोपलाई पनि पुष्टि गर्दैन।

यस प्रकरणमा दुई नेताहरुबीच हार र जीतको निर्णयक निश्कर्ष संसदीय छानविन समितले स्पष्ट रुपमा दिन सकेको छैन। बरु गगन र रवि दुवै राजनीति नै छाड्नेसम्मको शर्त पेश गरेर तथ्यभन्दा बाहिर गई एकअर्काबीच जुधेका विषयलाई स्पष्टसँग उजागर गरिदिएको छ।