पावर र पैसाको आडमा पुडासैनी आत्महत्या प्रकरणमा बचेका रवि सहकारी काण्डमा कारबाहीमा पर्दै

फाइल तस्वीर

भनिन्छ नि,‘झुठ टिक्दैन्, सत्य ढग्दैन्।झुठको खेती कुनै न कुनै दिन बाहिर आउँछ नै। पत्रकार शालिकग्राम पुडासैनीले आत्महत्या गर्नुअगाडि एउटा भिडियो बनाएर रवि लामिछानेको असली अनुहार राज्य र जनताको सामुन्ने ल्याइदिएका थिए। पत्रकारका नाममा रविले गरेका कर्तुतहरु, उनलाई मर्न बाध्य बनाइएका विषयहरु बारे उनले भिडियोमा बोलेका छन्।

रवि ‘फटहा’ व्यक्ति हुन् भनेर उनले त्यतिबेलै राज्य र जनतालाई सचेत गराइदिएका थिए । तर, उनको कुरा कसैले पत्याएन् । जुन आज सत्य साबित हुँदै गएको छ । रविका कारण मर्न बाध्य भएको भन्दाभन्दै पनि अदालतले सफाइ दियो । प्रमाणलाई कागजको खोस्टो बनाइयो । पत्रकार पुडासैनीको केसमा अनुसन्धान गर्न उनलाई हिरासतमा राख्दा चितवनका स्थानीयबासी रविको समर्थनमा उत्रिए ।

कसैको छोरा, कसैको श्रीमान् मरेको छ भन्ने चितवनबासीले सोचेनन् । छानबिन नै प्रभावित हुनेगरी उनीहरुले रविको पक्षमा आवाज उठाए । अन्ततः रविलाई सफाइ दिइयो । २०७९ मंसिर ४ गते चितवनका जनताले उनैलाई निर्वाचित गरेर सदनमा पठाए । उनको नागरिकता र राहदानी काण्ड शुरु भयो । दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनको पद खुस्काइदियो ।

२०८० वैशाख १० गते त्यहाँ पुनः निर्वाचन भयो । चितवनका स्थानीयले उनैलाई जिताएर पठाए । अब फेरि पनि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव गराउनुपर्ने देखिएको छ । सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिले उनलाई कारबाहीका लागि सिफारिस गरेको छ । सहकारीको पैसा मिडियामा ल्याएर अपचलन गरेकोमा दोषी ठहर गर्दै समितिले कारबाही गर्न भनेको हो ।

उनीमाथि कारबाही हुने निश्चय नै छ । उनी कारबाहीमा परेपछि त्यहाँ फेरि निर्वाचन गराउनुपर्छ । जनताले तिरेको कर बारम्बार ‘वालुवामा पानी’ भएको छ । यता, चितवनबासीले पनि पटकपटक दुःख पाउनुपरेको छ । पत्रकार पुडासैनीको जन्मथलो नुवाकोट र कर्मथलो काठमाडौं भएपनि चितवनमा गएर आत्महत्या गरेका थिए। उनी पनि नेपाली नागरिक थिए ।

नेपाल संविधानले त उनलाई पनि बाँच्ने अधिकार दिएको थियो । तर, रविले बाँच्न दिएनन्। रविलाई कारबाही गर्नुपर्छ, पुडासैनीलाई न्याय दिनुपर्छ भन्नुको साटो चितवनबासी रवि बचाउन सडकमा उत्रिए। अब पनि उत्रिन्छन् कि ? किन कि उनीसहितले लाखौं बचतकर्ताको ६५ करोड रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ। देशभरका जनताले चितवनबासीलाई सोध्छन्,‘तपाईंहरुले कस्तो व्यक्तिलाई मतदान दिनुभएछ ?

रवि एकपछि अर्को गर्दै विभिन्न काण्डमा मुछिएका छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को सार्वजनिक भइहाल्छ । जतिपटक बचेपनि कसूर गर्ने व्यक्ति कुनै न कुनै दिन कानुनको कठघरामा उभिनैपर्छ । रविको हकमा पनि त्यही भएको छ । उनी पटकपटक उम्किए, अब उम्किएलान्जस्तो देखिन्न । पुडासैनीकै केसमा रविलाई त्यतिबेलै कारबाही गरेको भए न ड्राइभर मर्थें, न लाखौ बचतकर्ताको घरबास उठ्थ्यो न बारम्बार चुनाव गराउनुपर्थ्यो ।

जनताले तिरेको कर अर्बौं रुपैयाँ खर्च भइसक्यो । यसको जिम्मा कसले लिने ? कसैले लिनुपर्ला नि ? अब पनि रविलाई कारबाही गर्नुहुन्न भनेर जनता सडकमा आउँछन् कि ? पावर र पैसाको आडमा जोगिएका रविले अब उल्टो गिन्ती शुरु गरे हुन्छ । ढिला भएपनि पुडासैनीको आत्माले शान्ति पाउने भयो । मर्ने बेलामा कसैले पनि झुठ बोल्दैन् । अगाडि मृत्यु देखेका व्यक्ति किन डराउने ?

तर, त्यतिबेला सबैलाई पुडासैनी झुठ्ठो लागे । रविलाई फसाउन खोजियोसम्म भनियो । मिडियाहरु रविको पक्षमा लागे । अझैपनि लाग्छन् कि ? एउटा व्यक्तिले मर्दाखेरि बनाएको भिडियोलाई ‘फेक’ साबित गराइयो । उनले पावर र पैसाको अगाडि प्रहरी प्रशासन र अदालत डगमगायो । बुढापाकाले भन्थे,‘बाउबाजेले गरेको अपराध तीन पुस्तासम्मले भोग्नुपर्छ ।’

रविले त आफ्नै पालामा भोग्ने भए । बुढापाकाले भन्न त अरुको आँशु पनि लाग्छ भन्थे । पुडासैनीलाई न्याय दिनुपर्छ भनेर त्यतिबेला कुनै नागरिक समाज, अभियन्ता, संघसंगठनहरु बोलेनन् । किन कि उनी त गरिब परिवारमा जन्मिएका थिए । सामान्य कृषि पेशा गरेर उनको परिवारको गुजारा चल्थ्यो । आफ्नो छोरा बित्दा ती बुवाआमाको मनमा के बित्यो होला ? कसैले सोचेन् ।

त्यतिबेला रवि सही हुन् भन्ने व्यक्तिहरु नै आज रविलाई कारबाही हुनुपर्छ भनेर बोलिरहेका छन् । सरकारले पनि उनलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाइसकेको छ । ‘अपराध’ गर्नेहरु ढिलोचाँडो कानुनको कठघरामा उभिनैपर्छ । गिरीबन्धु टी स्टेट काण्डमा केपी शर्मा ओली, नक्कली भुटानी शरणार्थी प्रकरणमा डा आरजु देउवा, वालुवाटार, मातातीर्थको जग्गा व्यक्तिको नाममा पास गर्ने बाबुराम भट्टराई र माधव नेपाल पनि कुनैदिन कानुनको दायरामा आउलान् ।

रात रात नै हुन्छ, दिन दिन नै छ । दिनलाई रात बनाउन खोज्नेहरु कतिञ्जेल बच्छन् ? कुरा यति हो कि जनताको आँखामा पर्दा हाल्न सक्दासम्म जोगिन्छन् । पर्दा उत्रिनेबित्तिकै जनताले कारबाहीको आवाज उठाउँछन् । विगतमा देशको राजनीतिक परिवर्तन गर्दा रविको कुनै योगदान थिएन् । हुन त उनी अर्काले तयार पारिदिएपछि गएर फाइदा उठाउने स्वभावका हुन् ।

नेपालमा बस्न असुरक्षित हुन्छ भनेर २०५८ सालमा उनी अमेरिका पुगे । अमेरिकी नागरिक बने । घरायसी कारणले उनी २०७१ सालमा नेपाल फर्किए, त्योपनि ‘भिजिट भिसा’ मा । अमेरिकी नागरिक बनिसकेका उनले कानुनको चरम उल्लङ्घन गरे । उनको पुरानो नागरिकता खारेज भइसकेको थियो । तर, त्यही नागरिकताको दुरुपयोग गरे । नेपालको कानुनलाई त उनले धोती लगाइदिए ।

टेलिभिजनमा काम गरे । उफ्रीउफ्री चिच्याउँथे । ‘जनतासँग सीधा कुरा’ भन्ने कार्यक्रम चलाउने उनले अर्कालाई कानुन र संविधान सिकाउँथे । जनताको कुरा उठाएजसो गरेर उनले एउटा प्रभुत्व जमाए । जनताको विश्वासको यसरी नाजायज फाइदा उठाउँछन्, भन्ने कसलाई के थाहा ? जनताको आडमा उनले जनतालाई ठगे । रवि कस्ता व्यक्ति रहेछन् ? सबैले देखि हाले होलान् ?

एउटा व्यक्तिले जनतादेखि लिएर राज्यसम्मलाई क्षति पुग्यो। नेपाली जनता सीधा छन् । कसैले दुई शब्द मिठो बोलिदियो भने विश्वास गरिहाल्छन् । हाम्रो आवाज उठाइदियो भनेर मख्ख पर्छन् । तर, उनीहरुको स्वार्थ बुझ्दैनन्। नेपालीको सोझोपनको फाइदा धेरैले उठाइसके । यो–त्यो गर्छु भन्छन्, पदमा पुग्छन्, धोका दिन्छन्। तैपनि हामी पुनः विश्वास गर्छौं।

हामी पढेका अनपढ बनिदिँदा रविजस्ता केही बाठाटाठाले हाम्रो फाइदा उठाए। जनतालाई आफू माथि पुग्ने भर्याङ्ग बनाए। रविको घटनाबाट सबैले के बुझ्नुपर्छ भने सँधै सत्यको जीत हुन्छ। चाहे त्यो ढिलै होस्।

कुनै व्यक्ति सत्य छ भने त्यो वर्षौंपछि पनि बाहिर आउँछ। त्यतिबेला रविको पावरमा दबिएको पत्रकार पुडासैनीको मुद्दा अब कुनै अधिवक्ता, नागरिक समाजले ब्यूँताइदिन्छन् कि। कसैले पहल गरिदिन्छन् कि।

नेपाली आमाको कोखबाट जन्मिएको व्यक्तिले नेपाली कानुनअनुसार न्याय पाउनुपर्छ। कानुन सबैलाई बराबर लाग्छ। त्यस्तै मुद्दामा कोहीले सजाय पाउने र कोही उम्किने नहोस् । त्यतिबेला एकको दोषी रवि अहिले लाखौं बचतकर्ताको दोषी बनेका छन्। कानुनको उपहास गर्नेलाई सरकारले कारबाही गरेरै छाडोस्।निर्दोष नफसोस्, अपराधी नउम्कियोस्’ भन्ने नीतिमा सरकार कतिको उत्रिँदो रहेछ ? हेर्न बाँकी छ।