विश्वकप लिग-२ मा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समयानुसार आज साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमान १ विकेटले विजयी भएको थियो।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले आज दोस्रो खेल खेल्न लागेको हो भने ओमानसँगको अन्तिम खेल मंगलबार हुँदैछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ। क्यानडामा सिरिज खेलि सकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्नेछ।