दशैँमा नयाँ नोट नछाप्ने राष्ट्र बैंकको निर्णयः अर्थतन्त्र संकटमा परिसकेको पुष्टि

मुलुकमा केही वर्षयता पाँच पैसा, दश पैसा, सुका, मोर, सिक्का, एक र दुई रुपैयाँको नोट प्रचलनमा छैन । यस्ता रकम पछिल्लो समय बजारमा न देखिन्छ न भेटिन्छ। अहिले पाँच रुपैयाँको नोट पनि निकै कम मात्र भेटिन्छ । भेटिहाले पनि पुरानो वा च्यातिएको हुन्छन् ।

सार्वजनिक यातायातदेखि पसलहरुमा सामान खरिद गरेपश्चात् पाँच रुपैयाँ फिर्ता आउने भएमा व्यापारी तथा व्यवसायीहरु पाँच रुपैयाँको नोट छैन भन्दै फिर्ता पठाउँछन् । दश र बीस रुपैयाँको नोट प्रशस्त छन् । तर, सबै च्यातिएको, थोत्रो, अबिर दलिएको हुन्छ । २५ रुपैयाँको त अहिले नोट नै देखिदैँन ।

यता, ५० र एक सय रुपैयाँको नोट पनि सबै पुराना छन् । कुनै टेपले टाँलिएको छ त कुनै अबिरका कारण बिग्रिएको छ । कतिपय नोटमा केरिएको वा लेखिएको पनि पाइन्छ । पाँच सय र हजारको नोट अन्य नोटभन्दा कम भेटिन्छन् । र, भेटिहाले पनि पुरानो, च्यातिएको भेटिने सर्वसाधारण बताउँछन् । यो वर्षको दशैँ मुखमै आइसकेको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडा दशैंमा टिका लगाइन्छ । टिका लगाएपछि दक्षिणा दिइन्छ । सो क्रममा यस्ता साना नोटहरु आवश्यक पर्छ । तर, नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंमा नयाँ नोट नछाप्ने तथा नबाँड्ने बताइसकेको छ । राष्ट्र बैंकको यो निर्णय अर्थतन्त्र संकटमा परिसकेको समेत पुष्टि गर्दछ ।

किनकि हरेक वर्ष बडा दशैँमा केन्द्रित बैंकले नयाँ नोट बाँड्दै आएको थियो । तर, यो वर्ष के भयो यस्तो जसले गर्दा राष्ट्र बैंक नयाँ नोट छाप्नबाट पछि हट्यो ? यसले अर्थतन्त्र संकटमा परिसकेको यकिन हुन्छ । हाल बजारमा रहेका नोट सबै थोत्रा, पुराना, अबिर, तेल लागेर बिग्रिएका छन् ।

अनि राष्ट्र बैंक भने हामी नयाँ नोट छाप्दैनौं भन्छ । राष्ट्र बैंकले बजारमा पठाएका कति पैसा चलायमान छ ? कति पैसा लुकाइयो ? कति पैसा बैंक, वित्तिय संस्थामा जम्मा भयो ? कति पैसा अबिर, पानी, तेलका कारण बिग्रियो ? कति पैसा च्यातियो ? कति पैसा आगोले नष्ट भयो ? भन्ने तथ्यांक केन्द्रिय बैंकसँग छैन ।

हुन त राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देश र जनताको हितमा हुने यस्ता काम गर्ने व्यक्ति पनि होइनन् । उनी त घरजग्गा, गाडी र सेयर दलालीलाई कसरी फाइदा हुन्छ ? भनेर मात्र सोच्छन् । अनि उनीहरुकै हितमा काम गर्छन् । राष्ट्र र जनताको केही मतलब छैन, गर्भनर अधिकारीलाई ।

अहिले एमालेकै अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री छन् । सोही पार्टीका कार्यकर्ता अधिकारी राष्ट्र बैंकको गर्भनर छन् । एमालेको पछिपछि काँग्रेस सति जान लागिरहेको छ । तर, देशमा के भइरहेको छ ? बजारमा के भइराखेको छ ? भनेर न सरकारलाई थाहा छ ? न त सरकारमा बसेका राजनीतिक दलहरुलाई !

राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नछाप्ने भएसँगै आम नागरिक असन्तृष्ट छन् । उनीहरु भन्छन्, ‘नेता, कर्मचारीले देश बेचे । अर्थतन्त्र ध्वस्त भयो । अनि त्यसैले दशैंमा सरकार नयाँ नोट छाप्नबाट पछि हट्यो ।’ उता, चानचुन पैसा नहुँदा व्यापारी तथा व्यवसायीहरुको ठगीधन्दा बढ्दै गएको छ ।

सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ तोकेको छ । तर, यातायात व्यवसायीहरु चढ्नेबित्तिकै २५ रुपैयाँ असुल्छन् । अनि यात्रुले ३० रुपैयाँ दिएमा पाँच रुपैयाँ छैन भन्दै फिर्ता गर्दैनन् । ५० रुपैयाँको नोट दिएमा पनि २० रुपैयाँ फिर्ता दिन्छन् । चानचुन छैन भनेर । किराना पसलहरुमा पनि पाँच रुपैयाँ छैन भनेर उपभोक्तालाई ठगिन्छ ।

व्यापारीहरु पाँच रुपैयाँको सामानलाई १५ रुपैयाँ मूल्य तोक्छन् । अनि उपभोक्ताले २० रुपैयाँ दिएमा पाँच रुपैयाँ छैन भन्दै फिर्ता गर्दैनन् । पत्रिका पसलहरुमा पाँच रुपैयाँदेखि दश, बीस रुपैयाँसम्मका पत्रपत्रिका पाइन्छन् । पत्रिका पसलेहरु पनि पाँच रुपैयाँको पत्रिकालाई चानचुन छैन भन्दै पाँच रुपैयाँ बढी? असुल्छन् ।

उनीहरु कि त पाँच रुपैयँँकै दुईटा पत्रिका लैजानुस् भन्छन् कि त साटेर ल्याउनुस् भन्छन् । यसरी हरेक क्षेत्रमा व्यापारी तथा व्यवसायीहरुले चानचुन पैसा नभएको बहानामा सर्वसाधारणबाट बढी रकम असुल्छन् । अनि बजारमा साँच्चिकै चानचुन पैसाको अभाव भएकै हो त ?

के राष्ट्र बैंकले सिक्काजसरी पाँच रुपैयाँको नोट पनि छाप्न बन्द गरेको हो ? यदि बन्द गरेको हो भने सार्वजनिक रुपमा भन्नुपर्यो ? तर, छाप्न बन्द गरेको छैन भने कि बजारमा पाँच रुपैयाँको नोटको अभाव छ ? यसको जवाफ अब सम्बन्धित निकायहरुले दिनैपर्छ । किनकि कुनै पनि बहानामा जनता ठग्न पाइदै्रँन ।

अहिले बजारमा रहेका नोटको अवस्था हेर्दा लाजमर्दो छ । त्यस्ता नोट देखेमा विदेशीले के भन्लान् ? विदेशमै रहेका नेपालीले समेत के सोच्लान् ? बजारमा नोटको अवस्था दयनीय रहँदा राष्ट्र बैंक मौन छ । न त नोटको दुरुपयोग गर्नेमाथि कारबाही गरिन्छ न त नोटको सदुरुपयोग गर्न सिकाइन्छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको तलब मात्र लाखौं छ । सेवासुविधा छुट्टै छ । उनी चढ्ने सरकारी गाडीको मूल्य मात्र झण्डै २५ करोड छ । अनि गर्भनर चाँहि यसरी मोजमस्ती गरेर हिँड्ने, सर्वसाधारण भने कुहिएको, थोत्रा, पुराना नोट चलाउन बाध्य हुनुपर्ने । अहिले नोट अभावकै कारण करोडौं सर्वसाधारण व्यापारी तथा व्यवसायीबाट ठगिएका छन् ।

तर, बजारमा कुन नोट कति सञ्चालनमा छ ? कुन नोटको आवश्यकता छ ? भनेर गर्भनरलाई केही मतलब छैन । २०६६ सालमा माधत्रवकुमार नेपाल प्रधानमन्त्री भएका थिए । उनलाई प्रधानमन्त्री पदबाट हटाउन माओवादीले देशभरका आफ्ना कार्यकर्तालाई काठमाडौं ल्याएर सडकमा उतारेको थियो ।

अनि काठमाडौंबासीले त्यो आन्दोलनमा साथ नदिएपछि माओवादीले आन्दोलन स्थगित गरेको थियो । आन्दोलन स्थगन गरेपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेलमा आयोजित एक कार्यक्रममा उपत्यकाबासी सुकिलामुकिला मात्र रहेछन् भनेर बताएका थिए । उनले यहाँका स्थानीयलाई देशमा के भइरहेको छ ? जनताले के भोगिरहेका छन् ? केही पनि थाहा छैन भन्दै भाषण नै गरेका थिए ।

प्रचण्डले भनेजसरी अहिले प्रधानमन्त्री ओली पनि सुकिलामुकिलामै पर्छन् । उनलाई पनि देशमा के भइरहेको छ ? भनेर केही थाहा छैन। थाहा छ त बस कसरी काँग्रेसलाई भ्रममा पार्ने अनि आफ्नो कुर्सी जोगाउने भनेर । अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीलाई पनि देश र जनताको अवस्थाबारे केही थाहा छैन।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भन्छन्,बैंकमा पैसा थुप्रियो। कर्जा लिन कोही आएन। बचतकर्ताको निक्षेप बैंककै कर्मचारी, सञ्चालकको मिलेमतोमा खाताबाटै गायब पारिएको छ। यता, कर्जा प्रवाह पनि घुसबिना गर्दैनन्। बैंकले एक करोडको धितो राखेर ३० लाख ऋण दिन्छ। त्यसमा पनि पाँच लाख त घुस नै खाइदिन्छ।

कर्जाको एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत लिन्छन्। अनि १२ देखि १८ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुल्छन्। ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै एक करोडको धितो २५ लाखमा पचाइदिन्छन्। सहकारी, लघुवित्त, फाइनान्समा बचत गर्ने करोडौं बचतकर्ताको हिजो पैसा डुबेपश्चात् रुवाबासी भयो।

आफ्नै पैसाका कारण उनीहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे। अब बैंकका बचतकर्ताहरुको पनि यस्तै हालत हुने देखिएको छ। अब बैंक पनि सहकारीजसरी डुब्दैछ। किनकि दुर्गा प्रसाई, भाटभटेनी साहु मीनबहादुर गुरुङजस्ता सयौं व्यक्तिले कमसल धितो राखेर बैंकबाट अर्बौ ऋण लिएका छन्। अहिले उनीहरुले कर्जा नतिरेपछि बैंक डुब्ने अवस्थामा पुगेको छ।