बालेन र ओलीबीचको सहअस्तित्वको लडाइँ उग्रबन्दै,समर्थकहरु अराजकतातर्फ जाँदै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भिड्नेलाई पुरस्कार दिने व्यवस्था गर्ने भएका छन्।

प्रधानमन्त्री ओली र काठमाडौं महानगरका मेयर बालेनबीचको ‘साइवर वार’ अब समर्थकबीचमा सरेको छ। दुई जननिर्वाचित प्रतिनिधिबीच सहअस्तित्वको लडाई हुँदा त्यसको परिणाम समर्थकहरूले झेल्नु पर्ने देखिएको छ।

दुबै जननिर्वाचित प्रतिनिधि हुन्। एकले केन्द्र सरकारको नेतृत्व गरिरहेको छ भने, अर्कोले स्थानीय तहको। देशकै बागडोर सम्हालिरहेका प्रधानमन्त्री ओलीमाथि मुर्दावादको नारा लाग्दा उनीमाथि जनताको आक्रोश पोखिएको छ।

अर्कोतर्फ आर्थिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिकाका प्रमुख बालेन नागरिककै बीचमा जात्रा मनाईरहेका छन्। ओलीप्रति नागरिकको असन्तुष्टि र बालेनको बढ्दो लोकप्रियता नै अहिले एमाले र बालेनको टकरावको मुख्य कारक बन्दै गएको देखिन्छ।

जुन प्रत्येक दिन हुने सार्वजनिक कार्यक्रममा विस्फोट हुन थालेको छ। केही दिन अगाडि संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्टमा बालेनको समर्थन गर्दै ओलीविरुद्ध नाराबाजी भएको थियो भने इन्द्रजात्रामा पनि सरकार भर्सेस बालेन समर्थकबीच केही फरक दृश्य देखिएको थियो।

बालेनको टिसर्ट लगाएर जात्रामा उपस्थित भएकाहरूलाई बिथोल्न आएको आरोप लगाउँदै प्रहरीले बालेनको टिसर्ट लगाएकै कारण १४ जनालाई नियन्त्रणमा लिएको थियो। त्यस्तै नेसनल डे कन्सर्टमा ओली र बालेन समर्थकबीच पनि मुठभेडको अवस्था सृजना भएको थियो।

त्यस्तै प्रधानमन्त्री ओलीविरुद्ध नारा र बालेनको जयजयकार गर्दा चार जनालाई हिरासतमा लिएको थियो। जसमध्ये तीन जनालाई प्रहरीले मुक्त गर्दा बझाङ घर भएका हाल माछा पोखरी बस्ने तिलक खड्कालाई भने ज्यान मार्ने मुद्दाको अभियोगमा आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइएको थियो।

त्रिचन्द्र कलेजमा बीएससी पहिलो वर्षमा अध्ययनरत खड्कामाथि चार महिना अघि क्याम्पसमा विवाद हुँदा इँटा प्रहार गरि विद्यार्थीलाई घाइते बनाएपछि उनीविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको प्रहरीले जनाएको थयो। तर, सरकारले सामाजिक सञ्जालमा लेखेको, अभिव्यक्ति दिएकै भरमा पक्राउ गर्ने र नागरिकको समर्थन प्राप्त गरेकै माथि झम्टिने सरकारको शैली हारको मानसिकता रहेको विश्लेषकको बुझाई रहेको छ।

देशकै तीन नम्बर वरियताको प्रधानमन्त्री ओली र १० औं वरियताको महानगर प्रमुख बालेनबीचको टसलमा नागरिक परिरहेका छन्। यसमा नेताहरूले नै जिम्मेवारी भूमिका खेल्नु पर्ने भए पनि उनीहरूबाटै सामाजिक सञ्जालबाट एक अर्कालाई तल देखाउँदै नागरिकलाई हौसाउने काम भईरहेको छ।

स्थानीय सरकारको क्षेत्राधिकार अनुसारका काममा बालेनको क्रेज बढ्दा झस्किएका ओलीले अनावश्यक हस्तक्षेप गर्न नहुने जानकारहरू बताउँदै आएका छन्।

न्यूरोडकै फुटपाथमा वडाध्यक्षलाई उक्साएका ओलीले नदी–नालाको २० मिटर जग्गामा पनि उपप्रमुखदेखि जिल्ला नेतृत्वलाई नै बालेन विरुद्ध खडा गरिदिएका थिए। ओली बालेन भिडन्तको सवालमा बरु वडाध्यक्ष वा जिल्ला तहकै नेताहरुलाई उतारे पनि प्रधानमन्त्री नै प्रत्यक्ष भिड्न आवश्यक नरहेको जानकारहरुको तर्क छ।

चौतर्फी आलोचना हुँदा ओली–बालेन भिड्न छाड्दैनन्। सुकुम्वासी बस्तीदेखि, गिरीबन्धु जग्गा प्रकरण, अवैध संरचना भत्काउने तथा खोला किनारको मापदण्डदेखि वालश्रमसम्मकै बिषयमा उनीहरु प्रत्यक्ष रुपमा र समर्थकहरु पनि भिडेको देखिन्छ।

दुई सरकारका प्रमुखबीच सहअस्तित्व र समन्वयको अभाव समर्थकहरुको भीड अराजकतातर्फ जाँदैछ। यो अनावश्यक जुँगाको लडाइँ छाडेर आफ्ना प्राथमिकतामा ध्यान दिनु दुबैका लागि हीतकर हुने देखिन्छ। ओली र बालेनबीचको लडाइँले गरिब जनताका छोराछोरीले दु:ख पाउने अवस्था सृजना भएको छ। दुइ जनाको अस्तित्वको लडाइँले कसैले पनि दु:ख नपाहोस् र दुवै जनाले जनताको काम गरेर हरेक नागरिकलाइ आशाको किरण जगाउने काम गरिनुपर्छ।