यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, भारी वर्षा देशभर हुने

काठमाडौं।देशभर मनसुनी वायुको प्रभाव रहेको छ।भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।

शुक्रबार राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका तराई भूभागका केही स्थानहरूमा राति पनि हावा हुरीको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।