५० लाख असुलीमा संलग्न काठमाडौं परिसरका दुई प्रहरी पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन्।

हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ।गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए। दुई दिन थुनामा राखेपछि संलग्नता देखिएको भन्दै छाडिएको थियो।

यसबीचमा बिचौलिया तेजबहादुर तामाङले ५० लाख रुपैयाँ लिएका थिए । हवल्दार खड्कासँगै मिलेर उनले सो पैसा असुलेको छानविनले पुष्टि गरेको छ।

एसपी प्रजित केसी नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा दुई प्रहरीविरुद्ध आपराधिक लाभ मुद्दामा कारबाही अघि बढेको हो।

बिचौलिया तामाङ भने फरार छन्। तामाङले आचार्यलाई नेपाल बोलाएर पक्राउ गराएका थिए।

यो घटनामा परिसरका इन्सपेक्टर प्रतीक सिंहलाई मातहतका प्रहरीलाई राम्रोसँग कमाण्ड र नियमन गर्न नसकेको भन्दै सचेत गराइएको छ।