सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन्।

इन्टरपोलमा रेड नोटिस जारी भएका मेयर नेपालीलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ। भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेको प्रहरीले जनाएको छ।

बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो। सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए।

इमेज सहकारीका संस्थापक मेयर नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो।