काठमाडौं उपत्यकाका विभिन्न बस्ती र सडक डुबानमा

काठमाडौं। हिजोदेखिको लगातार वर्षाले काठमाडौं उपत्यकाका बिभिन्न बस्ती र सडक जलमग्न भएका छन्। बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरा लगायतका खोला किनाराका बस्ती डुबानमा परेका हुन्। खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ। कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर क्षति भएको प्रहरीले जनाएको छ।

ललितपुरको इमाडोल र कुसुन्ती क्षेत्रमा पनि केही घरमा बाढी पसेको छ। नक्खु खोला र बागमती खोलाको दोभानमा पनि केही घर डुबानमा परेको छ। कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ।

मौसम पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा डुबान तथा बाढीको उच्च जोखिम रहेको भन्दै आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

यस्तै विभिन्न ठाउँका सडक पनि जलमग्न भएका छन्। पानीको उचित निकास नहुँदा कतिपय सडक खोला र पोखरीजस्ता भएका छन्। जलमग्न सडकमा गाडी चलाउन र हिँडडुल गर्न पनि समस्या भएको छ।