वीपी कोइराला क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवस सम्पन्न

चितवन। वी.पी.को मेमोरियल क्यान्सर अस्पतालको गौरवमय २५ औं वार्षिकोत्सव एवम् २०औं क्यान्सर सतर्कता दिवस भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रमका सभाध्यक्ष अस्पताल संचालक समिति अध्यक्ष डा.विजयराज न्यौपानेले क्यान्सर अस्पतालले गौरवमय साढे दुई दशक बिताइसकेको परिप्रेक्ष्यमा अस्पतालको स्तरोन्नतिको लागि पेट सि.टी. स्क्यान मेशिन र साइक्लोटोन मेशिन खरिद परियोजना अघि बढेको बताए।

अस्पतालमा शुल्क वृद्धि गर्दा विपन्न वर्गका जनसाधारणलाई थप आर्थिक भार पर्ने हुदाँ सरकारको तहबाट नै अनुदान वृद्धि गरी अस्पतालका अनुसन्धान, निदान र उपचारका लागि वातावरण तय गर्न सरकारको ध्यानाकर्षण गरे।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका राष्ट्रपति रामचन्द्र पौडेलले बिरामीको चाप र अस्पतालको स्तरोन्नतिको लागि सरकारको पहलकदमी बढाउन आवश्यक भएको सुझाव व्यक्त गर्दै अस्पतालको आगामी उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरे। साथै अस्पतालमा बिरामीको शुल्क र बिरामीको उपचारमा सुधार भएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारी एवम् व्यक्तिगत तवरबाट अस्पतालको उपकरण खरिद, स्तरोन्नति लगायतका विषयहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

साथै क्यान्सर जटिल रोगको उपचार विधि महंगो भएकोले स्वदेशमा नै सम्पूर्ण उपचार गर्ने वातावरण तय गर्न सकारात्मक धारणा राखे। कार्यक्रममा नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री दिपक खड्काको समेत समुपस्थिति रहेको थियो।

वाग्मती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले क्यान्सर अस्पताल देशको केन्द्रीय लाइफलाइन अस्पतालका रुपमा नै विकास भएकोले बिरामीको उपचारमा सुधार र सहज उपचारको खाँचोको मूल मान्यता स्थापित गर्नुपर्ने बताए।

कार्यक्रममा वी पी को मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालको स्तरोन्नतिको गतिविधि र भावी योजनाबारे प्रस्तुत प्रतिवेदन पेश गरे।

उनले पेश गरेको बाह्र बुँदे प्रतिवेदनमा आर्थिक वर्ष०८०/ ०८१ मा एक लाख, ८८ हजार ,५ सय १४ बिरामी सेवा लिएको र क्यान्सर बिरामी संख्या ६ हजार, ७ सय पन्चानब्बे रहेको उल्लेख गरे।

कर्मचारीका लागि उत्प्रेरणा कार्यक्रम, शैक्षिक प्रतिष्ठान स्थापनाको पहल , शैक्षिक एवम् अनुसन्धानात्मक कार्यक्रम र हाल एक हजार डोज एच पि भि खोप समुदायस्तरमा अस्पतालले नि:शुल्क लगाइरहेको बताए।

आयतर्फ नेपाल सरकार स्वास्थ्य कर कोषबाट १५ करोड ५६ लाख २८ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए। अस्पतालको आन्तरिक स्रोतबाट प्राप्त कुल जम्मा रकम ६४ करोड, २४ लाख ,५० हजार,४ सय ५९ रहेको र खर्चतर्फ कुल जम्मा रकम १ अरब, ७ करोड ,१५ लाख, ८१ हजार ,५ सय ५ रहेको जनाए।

अस्पतालको सेवा बढदै जाँदा अस्पतालका सञ्चालनका लागि प्राप्त अनुदान रकमको सापेक्ष वृद्धि हुनुपर्नेमा स्वास्थ्य कर कोषबाट उपलब्ध रकम वर्षेनी घटेकोमा सम्मानित समारोहमा अनुरोध पेश गरे।

कार्यक्रममा संघिय र प्रदेशसभाका माननियहरु,भरतपुर महानगर प्रमुख रेणु दाहाल, अस्पतालका उप निर्देशक डाक्टर उमेश नेपाल, संचालक समिति सदस्य डा. कृष्णसागर शर्मा, अस्पतालका संचालक समिति सदस्यहरु, उप प्रमुख चित्रसेन अधिकारी, जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु, जिल्ला सुरक्षा प्रमुखहरु, पत्रकार एवम् संचारकर्मीहरु अस्पतालका कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा अस्पतालका अध्यक्ष एवम् कार्यकारी निर्देशकद्वारा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार मन्त्री दिपक खड्कालाई मायाको चिनो प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा रक्त क्यान्सरलाई जितेका विष्णु प्रसाद पौडेल र एक करोड रकमको अञ्जनी अक्षय कोषदाता तिर्थ राज पराजुली एवम् चाईनिज मेडिकल टिम लिडरलाई राष्ट्रपतिबाट सम्मान समेत गरिएको थियो।