गोरखाबाट काठमाडौं हिडेको बस तीन दिनदेखि सम्पर्कबिहीन

काठमाडौं । गोरखाबाट काठमाडौं आउँदै गरेको बस तीन दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नम्बरको बस धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कबिहीन भएको पाइएको हो ।

बसमा सवार यात्रुका आफन्तले खोजी गरिदिन आग्रह गरेपछि बस हराएको खुलेको हो । असोज ११ को बिहान गोरखाको धार्चे गाउँपालिका लापुबेँसीबाट काठमाडौंका लागि छुटेको बस सोही राति १० बजे खानीखोलासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कबिहीन भएको समितिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले पनि बस हराएको सूचना आएको बताए । उनले चालक र सहचालक समेत सम्पर्कमा नरहेको र बसमा कति यात्रु सवार थिए भन्ने विषयमा यकिन जानकारी नभएको बताए ।

११ गते राति केही गाडी झ्याप्ले खोलाको पहिरोमा पुरिएको थियो । केही गाडी र त्यसमा सवारहरूको शव शनिबार राति निकालिएको छ । तर हराएको भनिएको बसको बारेमा अहिलेसम्म अवस्था अज्ञात नै रहेको छ। चालक र सहचालक नै सम्पर्कमा नरहेपछि बस खानीखोलादेखि नागढुंगाकै बीचमा कतै हराएको आशंका गरिएको छ।