बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत दिन माधव नेपालको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अविरल वर्षाबाट प्रभावितको उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेका छन् ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर काम गर्न नेता कार्यकर्ता सबैलाई विशेष अपिल गरेका हुन् ।

बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरिक सम्पर्कविहीन भएका र घाइते भएको उल्लेख गर्दै उनले प्राकृतिक विपदबाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा पार्टीलाई मर्माहत तुल्याएको बताएका छन्।

उनले बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घी सरकारसंग आग्रह समेत गरेका छन् । प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गरेका छन्।

बाढीपहिरो र डुबान प्रभावितका नागरिकहरूको उद्धार तथा बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था मिलाउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन, अवरुद्ध सडकको तत्काल मर्मतसम्भार गर्न नेता नेपालले सरकारसँग माग गरेका छन् ।

उनले विज्ञप्तिमार्फत जोखिमको सम्भावनाकालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरेका छन्।